तपाईँ सुन्दै हुनुहुन्छः

सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्छ : अर्थमन्त्री विष्णु पौडेल

रूपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका लागि राजनीतिक स्थिरता खोजेर नै यो प्रतिनिधि सभामा रहेको सबैभन्दा बलियो सरकार बनाएको बताउनुभएको छ।

बुटवल उद्योग वाणिज्य संघको ७१ औँ साधारणसभामा सोमबार बुटवलमा बोल्नुहुँदै उहाँले यसबाट नागरिक र निजी क्षेत्रमा केही खुसी बनाएको र अब यो कार्यकालका लागि यसको विकल्प नभएको बताउनुभयो। “यो सरकार बनेपछि निजी क्षेत्रलाई समस्या हुने कुनै निर्णय भएको छैन, केही समस्या समाधान हुने क्रममा छन्, अब निराश हुने होइन विश्वासको साथ व्यवसाय प्रवर्द्वनमा लागौँ,” उहाँले भन्नुभयो । मैले हरेक दिन निजी क्षेत्रका समस्या सुन्ने समय मिलाएको छु, यसले केही सहजता भएको छ । राजश्व संकलन, पुँजी लगानी, लगानीको वातावरण बन्दै गएको छ ।

“मोतिपुर औद्योगिक क्षेत्रका लागि यहाँका निजी क्षेत्रले मागेको विषय हो, त्यहीअनुसार सरकाले अघि बढाएको हो, केही समस्या भएको ठाउँमा पछि हेर्नेगरि बाँकी ठाउँमा काम अघि बढाउनेगरी काम अघि बढेको छ”, उहाँले भन्नुभयो, अब यो छिटो कार्यान्वयनमा आउँछ । उहाँले यहाँ थालेका आयोजना पूरा भएपछि सहज हुनेगरी काम भइरहेको, बुटवल नारायणगढ सडक, बुटवल गोरूसिंगे सडक, सिद्वबाबा सुरूङमार्ग, प्रादेशिक अस्पतालको आधुनिकीकरण र भैरहवा विमानस्थलले यश क्षेत्रको पहिचान बढाउने बताउनुभयो।

यो क्षेत्रमा निजी क्षेत्रले लगानी बढाएकोले पनि यहाँको भविष्यप्रति चिन्ता नगर्न अर्मथन्त्री पौडेलले आग्रह गर्नुभयो ।
ब्याजदर घटेपनि व्यवसायीले ऋण लिने स्थिति नबनेको विषयमा सरकारले अनुसन्धान थालेको उहाँले बताउनुभयो । “बैंकमा ब्याजदर घटेपनि व्यवसायीले सहजता नभएको सुनिरहेका छौं यसबारे सरकारले छिटो निकास ल्याउनेगरी तयारी गरिरहेको छ,” उहाँले भन्नुभयो ।

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले निजी क्षेत्रलाई साथमा लिएर प्रदेश तथा संघीय सरकारको समन्वयमा काम गर्ने बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले नीतिगत स्थायित्व नभए लगानी बढाउन नसक्ने बताउनुभयो । उहाँले आर्थिक सुधारका लागि सर्वपक्षीय आयोगको मागलाई अहिले को सरकारले कार्यान्वयनमा लगेकोमा निजी क्षेत्र खुसी रहेको बताउनुभयो। परम्परागत कानुनले लगानीलाई उत्साहित बनाउन नसकेकोले त्यसलाई परिमार्जित गर्नुपर्ने बताउँदै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।

संघका अध्यक्ष हरि अर्यालले कमजोर अर्थतन्त्र सुधारका योजना ल्याउन आग्रह गर्नुभयो । उहाँले रात्रिकालीन बजार, ट्राफिकचोकको बजार व्यवस्थापनको सहजता बनाउन, मोतीपुर औधोगिक क्षेत्र व्यवस्थापन, पर्यटन क्षेत्र सुधारका लागि यहाँ रहेका केबलकार र हिल स्टेसन संचालनको योजना बनाउन आग्रह गर्नुभयो । स्थानीय, प्रदेश संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्न तयारी रहेको अर्यालले बताउनुभयो ।

रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगी व्यवसायी चलायमान हुन नसकेको,बैंकमा रहेको रकम प्रयोगमा आउन नसकेको,अनलाइन सुविधामा लगाएको सेवाको भ्याट हटाउनुपर्ने, औधोगिक क्षेत्र जहाँ विवादरहित क्षेत्रमा तत्काल संचालनमा ल्याउनुपर्ने, इन्सुरेन्समा बढेको प्रिमियम रकम बढाएकाले ध्यान दिन आग्रह गर्नुभयो।

संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजुले औधोेगिक विकासबिना मुलुकमा समृद्धि संभव नभएको तर अस्थिर सरकारले समस्या परिरहेको बताउनुभयो । उहाँले ब्याजदर घटेपनि बजार चलायमान किन भएन भन्ने विषयेले उद्योगी व्यवसायी निरास भएको बताउँदै इन्स्योरेन्सका बाध्यकारी नियमले व्यवसायी मर्कामा परेको र समस्याभित्र समाधान खोजेर औधोगिक क्षेत्र चलाउन आग्रह गर्नुभयो ।

उहाँले सहकारी विभिन्न दलका नेताका कारण समस्या परेकाले यसको गम्भीर छानविन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button