तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन गरिने छ:  मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाउनुभएको छ । 

आज  एसियाली किसान सङ्घको ११औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले आयोग गठनका लागि आवश्यक परे कानुन संशोधन गरेर एक महिनाभित्र आयोग गठनको काम गर्ने गरी मन्त्रालयले तयारी गरेको जानकारी दिनुभयो ।  

मन्त्री अधिकारीले किसानको उन्नति नभएसम्म देशको प्रगति नहुने भएकाले यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “नीति राम्रो बनाएर व्यवहारमा लागू गराउन हामी लागिपरेका छौँ । कृषि क्षेत्रमा जलवायु परिवर्तनका असर धेरै परेकाले जलवायु उत्थानशीलता जोडेर काम गर्नुपर्ने अवस्था आएको छ”,उहाँले भन्नुभयो । जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावकै कारण खाद्य अधिकार चुनौती बन्दै गएको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले संविधानमै व्यवस्था भएको यो अधिकार कार्यान्वयनका लागि काम भइरहेको सुनाउनुभयो । 

एसियाका धेरै देश कृषिमै आबद्ध भएकाले सबै देशका किसान सङ्गठित भएर यस क्षेत्रको दिगो विकासका लागि आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । दुई दिनसम्म चल्ने साधारण सभामा १९ देशका २२ वटा किसानसँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button