तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन न्यूयोर्क जानुहुने भएको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल महासभामा सहभागी हुन आगामी असोज ४ गते न्यूयोर्कतर्फ प्रस्थान गर्नेगरी भ्रमण कार्यतालिका समेत बैठकले स्वीकृत गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।
यस्तै बैठकले एसियाली विकास बैङ्कबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने १ सय १५ मिलियन अमेरिकी डलर अर्थात् करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्त अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले दिनुभएको जानकारी अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ ३१ गते काठमाडौँमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौँ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गर्ने र वार्ता टोली गठन गर्ने, विम्स्टेक कृषि मन्त्री स्तरीय र कृषि सम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक आगामी चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा गोविन्दबहादुर कार्कीलाई बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामा र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रबन्ध निर्देशक पदमा सङ्गीता पहाडीलाई नियुक्त निर्णय गरेको छ ।
यसैगरी बैठकले कर्मचारी सञ्चयकोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थमन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेलाई नियुक्त गर्ने तथा कोषको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गर्ने, नेपाल इञ्जिनियरिङ परिषद्का रिक्त सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट विनोदबहादुर पाल, कर्णाली प्रदेशबाट अम्बिका महत, लुम्बिनी प्रदेशबाट लेखनाथ पाण्डेय, गण्डकी प्रदेशबाट निर्जला श्रेष्ठ चौधरी, मधेश प्रदेशबाट श्यामकिशोर यादव र कोशी प्रदेशबाट लैला श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
यसैगरी हिजो बसेको मन्त्रिपरिषद् बैठकले गङ्गादेव गाउँपालिका रोल्पाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका कायम गर्ने र त्यस पालिकाको केन्द्र साबिकको वडा नं. ५ सानडाँडा बाट वडा नं. २ सुखाओडार कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button