तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी बेचेर लाखौँ कमाउन थालेपछि विदेश जान छोड्दै युवाहरू

काठमाडौँ । रोल्पाका कृषकहरू आफूले घरमै बसेर उत्पादन गरेका तरकारी बेचेर लाखौँ रुपैयाँ कमाउन थालेका छन् ।
समुन्नति परियोजना कार्यक्रम मार्फत डिकोस रोल्पाले त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रीची गाउँका कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दा कृषकहरू लाभान्वित भई तराकारी उत्पादन गरि लाखौँ कमाउन सफल भएका हुन् । कृषकहरू तरकारी बेचेर लाखौँ रुपैयाँ कमाउन थालेपछि वैदेशिक रोजगारीमा समेत जान युवाहरू पनि बिस्तारै घट्दै गएका छन् ।
माछेमुल कृषक समूह सँग सहकार्य गरेर समुन्नति परियोजनाले मौसमी तथा बेमौसमी तरकारीका विउविजन, किटनाशक औषधी, तरकारी सङ्कलन गर्ने टहरा, हाटबजार स्थल, तरकारी खेतीको लागि प्रयोग गर्ने गँड्यौलाबाट उत्पादित प्राङ्गारिक मल, खेती गर्ने प्राविधिक तालिम, सिँचाइको लागी प्रयोग हुने पाइप स्प्रीङकल लगायतको सहयोग गर्ने गरेको छ ।
किसानहरुले मौसमी तथा बेमौसमी टमाटर, बन्दागोपी, फुलगोपी, लसुन, सिमी, तितेकरेला, काक्रा, बोडी, लौका, घिरौला, भान्टा, खुर्सानी, आलु लगायतका तरकारी खेती गर्दै आएका छन् । त्यस ठाउँबाट व्यापारीहरूले वार्षिक करोडौँको तरकारी दाङ, भैरहवा, नेपालगन्ज, बुटवल, नारायणगढ लगायतका अन्य शहरमा समेत तरकारी लैजाने गरेको किसानहरू बताउँछन् ।
माछेमुल कृषक समूहका अध्यक्ष अमर के.सीका अनुसार पहिले तरकारी खेती गर्ने पाँच घर थिए अहिले सात सय घरधुरी जतिले खेती गरिरहेका छन् यहाँका तरकारी खेती गर्ने किसानले तरकारी बेचेर मात्र एक घरधुरीले वार्षिक पाँच लाख देखी सात लाखसम्म कमाएको किसानहरू बताउँछन् ।
तरकारी खेतीबाट आम्दानी गर्न थालेपछि भारत, मलेसिया, साउदी, कतार लगायतका देशमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा समेत कमी आएको अध्यक्ष के.सीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button