तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको हिमा गाउँपालिका पूर्ण साक्षर पालिका घोषणा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमका  बीच बहुभाषिक शिक्षाको प्रवर्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।
जिल्लाका आठ पालिकामध्ये साक्षर घोषणा भएको हिमा पहिलो स्थानीय तह हो । जिल्लामा हिमा सहित छ वटा स्थानीय तह छन् । योसँगै हिमा साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।
हिमाको कुल जनसङ्ख्या १२ हजार आठ सय ४ छ । तीमध्ये  १२ हजार २ सय ५६ जना साक्षर छन् । त्यो भनेको ९५.७२ प्रतिशत नागरिक साक्षर छन् भने निरक्षरको सङ्ख्या ४.२८ प्रतिशत रहेको छ ।
स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ जना,स्नातक गरेका १५५ जना, आइएड  गरेका ८ सय जना रहेका छन् । यस्तै उच्च माविसम्म पढेका ११ सय ९६,एसएलसी पास गरेका ९५० जना, एसइई गरेका १६ सय ४८ रहेका छन् ।
बालविकास तर्फ सामान्य साक्षरको सङ्ख्या ४२२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार ६ सय ६० जना र विद्यालय उमेरका ५ हजार ३ सय ७० जना  साक्षर छन् ।
साक्षर हिमा गाउँपालिकाको सार्वजनिकिकरण घोषणा कार्यक्रम – २०८१ मा कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले साक्षर घोषणा गर्नुभयो  ।  उक्त अवसरमा बोल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले हिमा गाउँपालिका साक्षर पालिका घोषणा गरेर साक्षर कर्णाली प्रदेश बनाउने सरकारको लक्ष्यमा इट्टा थपिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सामुदायिक शिक्षा सुधार गर्नु फलामको चिउरा चपाउनु जस्तै छ । तर हिमाले सामुदायिक विद्यालय र शिक्षा सुधारमा गरेको अभ्यास प्रशंसा योग्य छन् । कर्णालीका अन्य पालिकाले पनि अनुशरण गर्न जरुरी छ ।’
सामुदायिक विद्यालयका शिक्षालाई गुणस्तर बनाउन खानेपानी,सरसफाई पूर्वाधार विकास प्रशासनिक सुधारमा पनि जोड दिनु पर्ने मन्त्री बुढाको भनाई छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । जिल्लाका आठ पालिकामध्ये शिक्षा क्षेत्र सुधारमा हिमाले पढाई मेलादेखी साक्षर घोषणा गरेर उल्लेखीय काम गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शिक्षाको विकास बिना अन्य भौतिक पूर्वाधार विकासको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।
सम्पूर्ण वडाध्यक्षहरूको तर्फबाट बोल्दै हिमा–१ का वडाअध्यक्ष तथा प्रवक्ता रतनबहादुर शाहीले हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गर्नु नमुना कार्य भएको बताउनुभयो । उहाँका अनुसार हिमाले शिक्षामा विशेष जोड दिएको छ ।  हिमाले हरेक वर्ष ३० प्रतिशत बजेट लगानी गरिरहेको छ ।
साक्षर घोषणाको पेश नेपाल, किर्डाक नेपाल, प्लान नेपाल, सुसुवा र क्याड नेपालले समन्वय र साझेदारी गरेका थिए । साक्षर नेपाल घोषणाको औचित्य माझ शीर्षकमा हिमाका  ६ माविबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।  उक्त अवसरमा हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्रदान गरेका जग्गादाताहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button