तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाको ठूला पर्व मध्ये एक चौरचनको तयारी तीव्र 

जनकपुरधाम । मिथिलाका ठूलो पर्वको रुपमा रहेको चौरचन पर्व मनाउनका लागि बजारमा किनमेल गर्नेहरुको आज बिहान देखि नै अत्यधिक भिड रहेको छ । व्रती तथा तीनका परिवारहरू पर्वको तयारीमा जुटेका छन् ।
जनकपुरधामको पेठिया बजार, जानकी चौक, राममंन्दिर तथा बाह्र विघा रंगभूमि मैदान क्षेत्रमा किनमेल गर्नेहरुको अत्यधिक भिड देखिएको छ । यसका साथै ग्रामीण क्षेत्रका बजारहरूमा पनि किनमेल गर्नेहरुको अत्यधिक भिड देखिएको छ ।
चौरचनमा प्रयोग हुने माटाको भाडा वर्तन एक साता अगाडी नै किनेका भएपनि फलफूल तथा अन्य पूँजाका सामाग्रीहरू भोलीसम्म किनमेल गरिने भएकाले बजारहरूमा भिड बढेको हो ।
मिथिलाका ठूला पर्व मध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूँजा गर्ने परम्परा रहेको छ । भगवान् भन्द्रमालाई अर्पण गर्नका लागि दही, खीर, पुरी, फलफूल, मिष्ठान्न, खजुर, पुडुकीया सहितका सामाग्रीहरू दिनभरि तयार पार्ने र साझ अर्पण गर्ने प्रचलन रहेको छ । किरानाका सामानहरू एक साता अगाडी देखि नै व्यवस्थापन व्रती तथा उनका परिवारहरू लाग्ने गरेका छन् ।
मिथिलामा सूर्यको मात्र होइन मानव सहित सम्पूर्ण जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूँजा गर्ने चलन रहेको छ । व्रतीहरूले कुनै प्रकारको मिथ्या आरोप नलागोस् भन्ने कामना सहित पर्व गर्ने चलन रहेको छ । यसमा घरका मूल महिलाले दिन भरि निराहार बसेर साँझपख भगवान् चन्द्रमाको विशेष पूजापाठ सहित प्रसाद सामाग्रीहरू हातमा लिएर चन्द्रमाको दर्शन गरेर पर्व मनाउने चलन रहेको छ ।
यस दिन चन्द्रमाको खाली हातले दर्शन गर्न नहुने मान्यता रहेकाले घरका हरेक सदस्यहरुले हातमा दशी, फलफूल, पक्वान सहितको डाला लिएर दर्शन गर्ने चलन रहेको छ । यस पर्वमा प्रयोग गरिने सामाग्रीहरू कृषि उत्पादनसँग सम्बन्धित रहेको छ ।
परिवार जनको कल्याण, सुख शान्ति तथा समृद्धिको कामना सहित प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्थी तिथिका दिन चौरचन पर्व मनाउने चलन रहेको छ । यस पटक तिथि घटबढका कारणले भोली तृतीया तिथि उपरान्त साँझ तीर चतुर्थी तिथि परेकाले चौरचन पर्व मनाउ लागेको पण्डित शोभाकान्त झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button