तपाईँ सुन्दै हुनुहुन्छः

वर्षौँदेखि सञ्चालन नभएको धनुषाको डुमरीया अस्पताल चाडै सञ्चालन हुने 

जनकपुरधाम । धनुषा जिल्लाको पूर्वी भेगमा रहेको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि अन्तिम तयारी भएको छ ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट आवश्यक स्वास्थ्य उपकरण तथा केही औषधि पठाइएको मन्त्रालयका सचिव डा. संजय कुमार ठाकुरले जानकारी दिनु भयो ।
करिब १४ वर्ष अघि निर्माण भएपनि सञ्चालन हुन नसकेको सो अस्पतालमा तत्काल सेवा सुचारु गर्ने प्रतिबद्धता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निरीक्षण भ्रमण गरेको दुई दिनमा नै उपकरण तथा औषधि पठाउने काम भएको छ ।
मुख्यमन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि आएपछि स्थानीयवासी पनि खुशी भएका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालका लागि आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको सचिव डा. ठाकुरले जानकारी दिनु भयो ।
खास गरेर सदरमुकाममा जनकपुरधामबाट करिब २२ देखि २५ किलोमिटर पूर्वमा रहेको सो अस्पताल सञ्चालनमा आएपछि उक्त क्षेत्रका आम जनतालाई स्वास्थ्य समस्या आएको खण्डमा तत्काल उपचार हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button