तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति सुरक्षा व्यवस्थालाई दुरुस्त बनाउन गृहमन्त्रीको निर्देशन

धनगढी । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा व्यवस्थालाई दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनु भएको छ । आज जिल्ला प्रशासन कार्यालय कैलालीमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरि सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन निर्देशन दिनु भएको हो । उहाँले स्थानीय प्रहरी-प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । त्यसक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले समग्र जिल्लाको शान्ति सुरक्षा तथा सेवा प्रवाह लगायतका बारेमा गृहमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
यस अघि आजै धनगढीमा नेपाली काँग्रेस कैलालीद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले प्रमुख ठुला दुई दल काँग्रेस र एमालेको सत्ता समीकरण बनेपछि जनतामा आशा जगाएको बताउनु भयो । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले दुई पार्टी बिच भएको सात बुँदे सहमतिको भावना एव मर्म अनुरुप प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टीका गतिविधि व्यवस्थित गर्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले देश र जनताको हितमा क्रियाशील दलको सहमतिमा संविधान संशोधन गरिने बताउनु भयो । संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र समानुपातिक, समावेशी चरित्रलाई अझ सुदृढ तुल्याउन संविधान संशोधन हुने भएकाले यसबारे अपब्याखा गर्न आवश्यक छैन, उहाँले भन्नुभयो ।
गृहमन्त्रीले लेखकले गेटा मेडिकल कलेजका सम्बन्धमा कानुन निर्माण अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई व्यवस्थित गर्नका लागि प्रयत्न भइरहेको बताउनु भयो ।
गृहमन्त्री लेखकले आजै धनगढीमा नेपाल प्रहरी सुदूरपश्चिम सशस्त्र प्रहरी गणको नवनिर्मित भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button