तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको २९ औँ बैठक भदौ २६ मा बस्दै, यस्तो छ सम्भावित कार्यसूची

दाङ । लुम्बिनी प्रदेश सभाको आगामी बैठक भदौ २६ गते बुधवार बस्ने भएको छ । प्रदेश सभाको आगामी बैठक भदौ २३ गते बस्ने जानकारी गराइएको थियो । तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको छ । लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको २९ औँ बैठक भदौ २६ गते बस्ने तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । बैठक दिउँसो एक बजेका लागी बोलाइएको छ ।
बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागी विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ । यस अघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश भएको थियो । प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिएपनि  विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।
प्रदेश सभाबाट पास हुनुपर्ने तर, अझै सम्म सदनले पास नगर्दा कर्मचारीको वृत्तिविकासमा असर परेको भन्दै दिनहुँ ज्ञापन पत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेश सभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिरहेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button