तपाईँ सुन्दै हुनुहुन्छः

मानव तस्करीको जोखिममा महिला र बालिका

'माईती नेपालद्वारा गत आर्थिक वर्षमा २ सय ९५ जनाको उद्धार'

बाँके । ‘तीनै तहका सरकारको प्रतिबद्धता: मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नारासहित आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औँ राष्ट्रिय दिवस मनाइँदै छ । सरकारले सचेतनामुलक कार्यक्रमसँगै हरेक वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको भए पनि महिला र बालिका बेचबिखनको जोखिम भने रोकिएको छैन ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग र वैदेशिक रोजगारीमा जान चाहने महिलाको सङ्ख्या बढेसँगै शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन् । रोजगारीको प्रलोभन, अशिक्षा, गरिबी, घरेलु हिंसा र देखासिकी जीवनशैली लगायतका कारण मानव बेचबिखनका घटना बढिरहेका छन् ।
यसको उच्च जोखिम लुम्बिनीमा पनि छ । बाँके प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले बाँके प्रहरीमा गत तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म गरी ४७ वटा मानव बेचबिखन विरुद्धका मुद्दा दर्ता भएको बताउनु भयो । २०७८/७९ मा १७ वटा मुद्दा दर्ता भएकोमा त्यसपछिका वर्षमा समान १३ वटा र चालु आर्थिक वर्षको हालसम्म चारवटा मुद्दा दर्ता भएको जिकिर गर्नु भयो । तीमध्ये १० वटा बाहेक सबै मुद्दामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरिसकेको जानकारी दिनु भयो ।
प्रहरी उपरिक्षक कार्कीले मानव हराएका घटनाका सम्बन्धमा प्रहरी, सङ्घसंस्था र परिवारको सहकार्यमा खोजी हुने गरेको बताउनु भयो । तर, हराएको मानिस सम्पर्कमा नआएको खण्डमा प्रहरी र सम्बन्धित ठाउँमा जानकारी दिने प्रवृत्ति कम रहेकोले अनुसन्धानमा समस्या हुने गरेको बताउनु भयो ।
यसैगरी माइती नेपालमा गत आर्थिक वर्ष २०८०/८१ मा ६ सय ८७ जना व्यक्तिहरू हराएको भन्दै निवेदन परेको थियो । तीमध्ये २ सय ९५ जनामात्रै फेला परेको तथ्याङ्क रहेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताउनु भयो ।
बाँकी व्यक्तिहरू परिवारको सम्पर्कमा आएर खबर नगरिएको हुनसक्ने भए पनि अधिकांशको अवस्था अज्ञात छ । कोइरालाका अनुसार अधिकांश हराउनेहरू बालबालिका नै छन् ।
माइती नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा बाँकेको जमुनाह नाकाबाट मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५ सय २६ जना महिला तथा बालबालिकाहरूलाई सुरक्षित रूपले घर फर्काएको छ । माइती नेपालका अनुसार ती सबैलाई परिवारसँग पुनर्मिलन गराइएको छ । यसैगरी भारतका विभिन्न ठाउँबाट ९ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।
माइती नेपाल नेपालगन्जका प्रमुख कोइरालाका अनुसार पछिल्लो समय पढेलेखेका, आर्थिक रूपले सम्पन्न, महिला, पुरुष सबै तप्काका मानिसहरू मानव बेचबिखनमा परिरहेका छन् । जमुनाह नाकाबाट कामका लागि तेस्रो मुलुक जाने नाममा भारतको बाटो प्रयोग गर्दा पनि मानिसहरू मानव बेचबिखनमा पर्ने गरेको उहाँको भनाई थियो । अर्कोतिर पैसाका लागि जस्तोसुकै काम गर्ने महत्त्वाकाङ्क्षा र सामाजिक सञ्जालको दुरुपयोगकर्ताको निशानामा पर्दा पनि मानिसहरू बेचबिखनमा पर्ने गरेको कोइरालाले बताउनु भयो ।
माइती नेपालले भारतमा बेचबिखनमा परेकाहरूलाई अपरेसन चलाएर उद्धार गरी ल्याउने गरेको छ । पछिल्लो समय माइती नेपालमा खाडी मुलुकबाट समेत आफू बेचबिखनमा परेको र उद्धार गरिदिन भन्दै निवेदनहरू आइरहेको कोइरालाले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग खाडीमा गएर उद्धार गरी ल्याउने क्षमता छैन । राज्यले नै यसका लागि संयन्त्र बनाउनुपर्ने आवश्यकता देखिएको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button