तपाईँ सुन्दै हुनुहुन्छः

हत्यारा पक्राउ नपर्दा स्थानीय त्रसित, आरोपितहरूलाई छिट्टै पक्राउ गर्ने प्रहरीको प्रतिबद्धता

बाँके । गत ६ महिना यता बाँके जिल्लामा भएका हत्याका दुईवटा घटनामा संलग्नलाई प्रहरीले पकाऊ गर्न नसक्दा पीडित परिवारले आफूहरूलाई त्रासमा बस्नु परी रहेको बताएका  छन् ।
गत वर्ष चैत १७ गते राति नेपालगन्ज–२१ बिर्ताका २२ वर्षीय अरबी खाँको घर नजिकै गहुँबारीमा घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको थियो । तर सो घटना भएको पाँच महिना बिते पनि प्रहरीले आरोपितहरूलाई पक्राउ गर्न सकेको छैन ।
आरोपित पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको पीडित परिवारले गुनासो गरेका छन् । पाँच महिनादेखि जिल्ला प्रहरी कार्यालय धाएर आरोपितलाई पक्राउ गर्न आग्रह गर्दै आए पनि आरोपितलाई पक्राउ नगरिएको मृतक खाँकी आमा राबिया खाँले बताउनुभयो ।
मृतक खाँका पिता करम खाँले घटनास्थलमा रगतले लतपतिएको एउटा सर्ट फेला परेपनि सो सर्ट भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर छाडिदिएको गुनासो गर्नुभयो ।
अरबी खाँको हत्या भएको ठाउँमा रगतले लतपतिएको एउटा सर्ट फेला परेको थियो । त्यस आधारमा स्थानीय र आफन्तले प्रहरीलाई सूचना दिँदा प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिए पनि छानबिन नै नगरी छाडिदिएको खाँका आफन्तको आरोप छ ।
खाँका आफन्त अब्दुर्रहमान खाँले भन्नुभयो, ‘आरोपित पत्ता नलागेकोले घट्नाको पाँच महिना बिते पनि अहिलेसम्म खाँको परिवारमा दैनिकजसो रुवाबासी छ । न त कसैले राम्रोसँग खाना खान्छन् न त कोही काममा नै जान्छन् । अत्यन्त दुखद अवस्था छ ।’
सोही प्रकारले गत असार २८ गते साँझ नेपालगन्ज–११ सदरलाइनमा ठेलामा व्यापार गरेर गुजारा गर्दै आएका ३८ वर्षीय इरसाद राईको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । स्कुटरमा आएका व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेर फरार भएका थिए । तर, अहिलेसम्म मुख्य हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
घरका मुखिया राईको हत्या भएसँगै उहाँकी पत्नी मुन्नी राईमाथि ठुलो संकट आइलागेको छ । पाँच सन्तानकी आमा मुन्नीले हत्यारा पक्राउ गर्न आन्दोलन समेत गरिएको स्मरण गर्दै पटक–पटक आग्रह गर्दा पनि अझै हत्यारा पक्राउ नपर्दा पीडा झन् थपिएको बताउनु भयो ।
प्रहरीले भने दुवै घटनाका हत्यारा पत्ता लगाउन कुनै पनि कसर बाँकी नराखेर जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले अरबी खाँको घटनामा सिआईबीले एक महिना नेपालगन्जमै बसेर अनुसन्धान गरेको जानकारी दिनु भयो ।
घटनास्थलको अनुसन्धान र अन्य विभिन्न अनुसन्धानबाट घटनाका संदिग्धको पहिचान भइसकेकोले छिट्टै पक्राउ गर्ने बताउनु भयो । आरोपितहरू नेपाल बाहिर रहेकोले आरोपितहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको जानकारी दिँदै भन्नुभयो, परिवारलाई न्याय दिन कुनै कसर बाँकी राख्ने छैन ।
यस्तै राईको हत्याका सम्बन्धमा प्रहरीले धेरै अनुसन्धान गरेर धेरै मिहिनेतपछि झगडामा संलग्नको पहिचान र सनाखत भइसकेकोले हत्याराहरू छिट्टै पक्राउ पर्ने प्रहरी उपरिक्षक कार्कीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘अपराधी पक्राउ गर्न प्रहरी तदारुकताका साथ लागेको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button