तपाईँ सुन्दै हुनुहुन्छः

बर्का अट्वारी पर्वमा लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ। लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ २३ गते आइतबार परेको छ ।
यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।
कुशे औँसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । प्रकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button