तपाईँ सुन्दै हुनुहुन्छः

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका हुन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल बनाउन कर्मचारीको ठुलो भूमिका हुने बताउनुभएको छ ।

निजामती कर्मचारी दिवस, २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सरकार सफल बनाउन कर्मचारीको ठुलो भूमिका हुने बताउनुभयो ।

संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरे पनि सबैले इमानदारीताका साथ गर्न आग्रह गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले जनतालाई सरल र सहज सेवा दिन सुझाव दिनुभयो ।

उहाँले सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिए पनि सरकारको अङ्गको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामा पनि असफलता झल्किने बताउनुभयो । सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले आफ्नो जिम्मेवारीप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल संवोधन गर्नुपर्ने विषय प्रदेशसभाबाट तत्काल संशोधनको तयारी गरिएको बताउनुभयो । उहाँले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधन सहित सम्बोधन गरिने बताउनुभयो ।

प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्षमा प्रदेश सरकारले १ करोड विनियोजन गरेको जानकारी दिनुभयो । प्रदेशभित्रका स्थानीय तहलाई पनि कोषमा सहभागी गराउने उहाँले बताउनुभयो ।

कर्मचारी सरुवा र वृत्ति विकासका सन्दर्भमा उचित मापदण्ड बनाएर लागु गर्ने विषयमा सबै कर्मचारी ट्रेड युनियनलाई एकमत भएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरू, जनप्रतिनिधिहरू, मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button