तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बिस्तार हुन अझ केही दिन लाग्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकानीमा उहाँले तीजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो ।

उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको हिँडाइ बिस्तारै भयो, गति बढाउनुहोस् ।”

मुख्यमन्त्री कार्कीले काँग्रेसकै आफ्नो कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाँडै मन्त्रिपरिषद् बिस्तार गर्न कांग्रेस पार्टीसँग छलफल भइरहेको प्रष्ट पार्नुभयो ।

उहाँले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाँडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिने बताउनुभयो ।

अहिलेको सरकार शासकीय सुधारतर्फ लागेको र विकासका योजनाहरूलाई तीव्र गति दिइने बताउनुभयो ।

फरक प्रसङ्गमा पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।”

सरकार गतिशिल र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यता तिर जाने नभई काम गर्न लागिपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button