तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा सीप परिक्षण तालिमको कार्यविधि संशोधन

बाँके । लुम्बिनी प्रदेश सरकारले कार्यविधिमा संशोधन गर्दै सीप परिरक्षणसम्बन्धी तालिम सञ्चालनमा देखिएको जटिलता हटाएको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सीप परीक्षणको जटिलता अन्त्य हुने गरि कार्यविधि संशोधन गर्नुभएको हो।
प्रदेशको उद्योग मन्त्रालयले नागरिकलाई उद्यमसँग जोड्ने लक्ष्यसहित सीप परिक्षण तालिम सञ्चालनका लागि कार्यविधि बनाएको थियो। तर, तत्कालीन सरकारले बनाएको जटिल कार्यविधिका कारण तालिम कार्यक्रम गत वर्ष प्रभावकारी बन्न नसक्दा, विनियोजित बजेटको अधिकांश रकम फ्रिज भएको थियो।
कार्यविधि अनुसार सीटीईभीटीका दोस्रो श्रेणी (डिप्लोमा तह) का प्रशिक्षकहरू आवश्यक पर्ने प्रावधान थियो, तर प्रदेशमा प्रशिक्षक उपलब्ध हुन नसकेपछि तालिम कार्यक्रम सञ्चालनमा कठिनाइ आएको थियो।
गएको वर्ष लुम्बिनी प्रदेशमा ३० भन्दा धेरै कार्यक्रम सञ्चालन गर्ने योजना भए पनि जटिल कार्यविधिका कारण कतिपय कार्यक्रम सञ्चालन हुन सकेनन्। हाल कार्यविधिमा दोस्रो श्रेणीका प्रशिक्षक अनिवार्य नहुने गरी संशोधन गरिएको छ, जसले कार्यक्रम सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको मन्त्री न्यौपानेले बताउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button