तपाईँ सुन्दै हुनुहुन्छः

जनपक्षीय काम गर्दा सरकार ढालियो : पूर्वमन्त्री पुन 

रुपन्देही । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले माओवादी नेतृत्वमा रहेको सरकारले राम्रा काम गर्दै र भ्रष्टाचारीको फाइल खोल्दै गएकाले आफूहरुविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाउनुभएको छ ।
पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औँ जिल्ला सम्मेलनको मङ्गलवार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताउनुभयो ।
उहाँले माओवादी नेतृत्वमा बनेको सरकारले राम्रा काम गर्दै गएकाले र भ्रष्टाचारीहरूको फाइल खोल्दै गएकाले सरकारबाट हटाउने मोर्चाबन्दी सुरु भएको बताउनुभयो । पूर्व अर्थमन्त्री पुनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाउनुभयो ।
पुनले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस र एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको तर्क गर्नुभयो । पुनले प्रचण्डको नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धकै कारण अहिलेका राजनीतिक उपलब्धी हासिल भएकाले त्यसलाई अवमूल्यन र अपमान गर्ने कार्य कदापि स्वीकार्य नरहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button