तपाईँ सुन्दै हुनुहुन्छः

‘कम लागतमा उत्पादन बढाउने नीति कृषिमा आवश्यक’

विराटनगर । पूर्व अर्थ मन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले कृषि उत्पादन बढाउन तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बिपी चिन्तन प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको ‘नेपालमा कृषि क्रान्ति: सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले तिनै तहका सरकार मिलेर कम लागतमा उत्पादन बढाउने खालका नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कृषिको रूपान्तरण गर्दै उत्पादन बढाउन कृषिमा प्रविधिको विकास, मलखाद्ध सिँचाइको सहज व्यवस्थापनका साथै ठुलो आकारमा कृषिको क्षेत्रफल विस्तार हुनुपर्ने उहाँको भनाई थियो ।
उहाँले आफु मन्त्री भएको बेला उद्यमशील किसानलाई अनुदान दिने व्यवस्था मिलाइएको बताउनुभयो ।
नेपाली कांग्रेस पार्टीका प्रवक्ता समेत रहनुभएका नेता महतले राजनीतिक स्थायित्व र मुलुकको सम्वृद्धिका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य भिम पराजुलीले कृषि क्षेत्रको विकासमा एकै प्रकारको नीति आवश्यक रहेको बताउँदै युवाहरूलाई कृषिमा आकर्षित गराउनुपर्नेमा जोड दिनुभयो  ।
कार्यक्रममा बिपी चिन्तन प्रतिष्ठानका सह–अध्यक्ष पशुपति पराजुली, कृषि विज्ञ राजेन्द्र उप्रेती, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोज यादव, मुक्तिनाथ कृषि कम्पनी प्रालीका प्रमुख भरत ढकाल, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री प्रमिला गच्छदार, बिपी चिन्तन प्रतिष्ठानका प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसाईँ तथा कृषक अगुवा चुमनारायण तवदारले कृषिको आधुनिकीकरणमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button