तपाईँ सुन्दै हुनुहुन्छः

निकुञ्ज क्षेत्रमा बनेका अवैध संरचना हटाउन अल्टिमेटम

जुम्ला । कर्णाली प्रदेशको मुगुमा स्थित रारा राष्ट्रिय निकुञ्जले अवैध संरचना हटाउन थालेको छ ।
निकुञ्जको ऋणी मोक्ष मध्यवर्ती क्षेत्रको बाम्नेचौमा बनेका अवैध संरचना हटाउन थालेको हो । रारामा बढ्दो पर्यटकको माग र अवैध रुपमा बनेका संरचनाले पर्यापर्यटन तथा वन्यजन्तु संरक्षणमा पारेको प्रभावलाई मध्यनजर गर्दै अवैध संरचना हटाउन थालेको निकुञ्जले जनाएको छ ।
२०७९ असोज ९ देखि २६ गतेसम्म परेको अविरल वर्षाले विस्थापित भएपछि मुगु छायानाथ रारा नगरपालिका–८ झयारी गाउँका स्थानीयले आश्रयको रुपमा निकुञ्ज मध्यवर्ती क्षेत्रमा संरचना बनाएका थिए ।
करिब दुई वर्ष भन्दा बढी समय सरकारी जग्गा प्रयोग गरे । हाल अधिकांश आआफ्नो घर फर्किसकेका छन् । तर केही स्थानीयले भने ऋणी मोक्ष मध्यवर्ती क्षेत्रको सरकारी जग्गामा बनेका अवैध संरचना हटाउन नमानेपछि निकुञ्जले ५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन दबाब अल्टिमेटम दिएको छ ।
सोमबार पाँच दिने सूचना जारी गर्दै मध्यवर्ती क्षेत्रको सरकारी जग्गामा बनेका अवैध संरचना आगामी भदौ २१ गतेभित्र हटाउन अल्टिमेटम दिइएको रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो ।
अटेरी गरिए निकुञ्जको नियमानुसार कारबाही प्रक्रिया अगाडी बढाई खाली गराउन बाध्य हुने र नोक्सानी भए सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button