तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा लामाचौर कप भलिबल प्रतियोगिता सुरु

पोखरा । गत वर्षको विजेता गण्डकी प्रदेश भलिबल टिम पोखरामा सुरु भएको लामाचौर कप अन्तर्गत पहिलो खेलमा सोझो सेटमै पराजित भएको छ । चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मङ्गलवार पुरुषतर्फ प्रतिस्पर्धामा गण्डकीले हार व्यहोरेको हो ।
पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै कठिन भएको थियो । गण्डकीलाई २१ अङ्कमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म जित निकाल्यो । अघिल्ला सेट पुलिसले २५–१७ र २५–२१ मा जितेको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औँ संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत मङ्गलवारदेखि लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा ४ दिनसम्म प्रतियोगितामा महिला तथा पुरुषतर्फ चार–चार टिमले भाग लिएका छन् । एपिएफले महिला तथा पुरुष दुवैतर्फ जित हात पार्दा महिलातर्फ साविक उपविजेता डायमन्डले विजयी सुरुआत गरेको छ ।
महिलातर्फ उद्घाटन खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराएको छ । एपिएफले अघिल्ला दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट गुमाएको हो । उसले २५–१४, २५–१४, २४–२६ र २५–२३ सेटले जितेको हो ।
महिलातर्फ दोस्रो खेल टिपटप न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले जित्यो । डायमन्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेट २५–१४, २५–१२ र २५–१७ मा पराजित गरेको रेफ्री डेलिगेट टहलसिंह थापाले बताउनुभयो ।
पुरुषतर्फ पहिलो खेलमा एपिएफले ट्राभल इक्वायरी गलकोटलाई ३–१ सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको हो । एपिएफले २५–१७, २५–२७, २५–१६ र २६–२४ मा हराएको हो ।
दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमन्ड र गण्डकी तथा दोस्रो खेलमा एपिएफ र एभरेष्ट भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुने खेलकुद संयोजक शङ्कर केसीले बताउनुभयो । राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।
आयोजक संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो ।
भदौ २१ गतेसम्म चल्ने लामाचौर तीज महोत्सव अवसरमा अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्को आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button