तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै ग्रामीण महिला

जुम्ला । जुम्लाका ग्रामीण महिला व्यवसायी तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । सिप र प्रविधि पाएपछि आफ्नै गाउँमा व्यवसाय तरकारी खेती गरेर महिला आत्मनिर्भर बन्न थालेका हुन् ।
तातोपानी गाउँपालिका वडा नं. ५ की काली रावत तरकारी खेतीबाटै घरखर्च जुटाउने छोरालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । गाउँमा रोजगारी छैन । उत्पादन छैन । भविष्य छैन भन्दै विदेशीने युवाको सङ्ख्या बढिरहेको बेला श्रम गरे स्वदेशमै आत्मनिर्भर बन्न सम्भव छ भन्ने उदाहरण समेत काली रावतले पेश गरेकी छन् ।
तरकारी बेचेर बेसिजन (हिउँद)मा करिब ७५ हजार सम्म र सिजन (बर्खामा) झण्डै एक लाख ५० हजार भन्दा बढी आम्दानी हुने गरेको किसान काली रावतले बताउनुभयो । उहाँले भन्नुभयो,‘परिवारको आम्दानी हुने स्रोत केही छैन । २०६० सालबाट तरकारी खेती गरेपनि व्यवसायीक खेती सुरु गरेको करिब दुई वर्ष भयो । तर यो अवधिमा कमाई राम्रो भएको छ । पहिला परम्परागत खेती गर्थ्यौ । अहिले किर्डाकले सिप र प्रविधि दुवै दिएपछि तरकारी खेती फष्टाएको छ ।’
अहिले छिमेकीको खेत समेत लिजमा लिएर तरकारी खेतीलाई विस्तार गरेको जानकारी दिइन् । किर्डाक नेपालले सिप दिनुका साथै झण्डै ३ लाखको लागतमा टनेल हाउस बनाएपछि व्यवसायीक तरकारी खेती गर्न सहज भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार गत वर्ष प्याज मात्रै ५ क्वीईन्ट उत्पादन गरेको र अन्य सबै खाले तरकारी नियमित उत्पादन भइरहेको छ ।
उता तिला गाउँपालिका वडा नं. ५ की पाना शाहीले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ । उहाँले आफूले तरकारी खेती मात्र गरेकी छैनन् । आफ्नो जग्गामा किर्डाकले बनाइएको ३ लाख लगानीको बृहत् टनेलमा तरकारी खेतीको प्रविधिबारे पनि सिकाउने गरेकी छन् ।
उक्त वडामा रहेको नौलो बिहानी सिमि उत्पादन समूहका महिलाले उक्त टनेल हाउस मार्फत गाउँ घरमा हुने तरकारीबारे धेरै ज्ञान आर्जन समेत गरेका छन्  । स्थानीय महिला रिता नेपालीले पछिल्लो समय ज्ञान पाएपछि खेती गर्दा बिउ छनोट,मलजलमा ध्यान दिनु पर्ने कुरामा सचेत भएको बताउनुभयो । भने अहिले घरमै जैविक मल समेत उत्पादन गर्न सिकेको जानकारी दिइन् । यता तातोपानी २  बाबिराका महिलाहरूले पनि समूहगत रुपमा तरकारी खेती गरिरहेका छन् ।
उत्पादन भएपनि बजारको अभाव रहेको उनीहरूको गुनासो छ । किर्डाकले खेत जोत्ने,जौ चुट्ने मेसिन समेत दिँदा कार्यबोझ घटेको बताएका छन् । तर मर्मतका लागि ज्ञान नहुँदा समस्या भएको उनीहरूको भनाई छ ।
वर्ल्ड भिजनको सहयोगमा किर्डाकद्धारा सञ्चालित ‘एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन’ परियोजनाले जुम्लाका तिला,तातोपानी,पातारासी,चन्दननाथ र गुठिचौरमा गरेका गतिविधिको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले तातोपानीको उत्पादन तातोपानीमै खपत हुने गरी व्यवस्था मिलाइने बताउनुभयो । पालिकाका २९ वटै विद्यालयमा अर्ग्यानिक खाजा अनिवार्य गरेकोले समन्वय गरेमा उत्पादनको बजारीकरणमा समस्या नहुने उहाँको भनाई छ । साथै उनले श्रीनगरकी काली रावत तातोपानीकी अब्बल किसान समेत भएको उल्लेख गर्नुभयो ।
किर्डाक नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत ललित डाँगीले वल्डभिजनको आर्थिक सहयोग र किर्डाकको साझेदारी सञ्चालित ‘एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन’ परियोजना मार्फत कालि रावत रावत दर्जनौँ सफल किसान जन्माएको बताउनुभयो ।
किर्डाकका सामाजिक परिचालक अजित भाषाले किसानलाई उत्पादन बढाउन खेती प्रविधि बारे सिकाइएको बताउनुभयो । परियोजनाले महिला सशक्तीकरण र उत्पादनमा महिला सहभागिता बढाई सक्षम बनाउने उद्देश्यले काम गरिरहेको उहाँको भनाई छ ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले किर्डाकले जुम्लामा कृषि उत्पादन बढाउन,महिला सशक्तीकरण, रैथाने बालीको संरक्षण लगायतका विषयमा उल्लेखीय काम गरेको बताउनुभयो ।  परियोजनाका सफल अभ्यासलाई स्थानीय सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button