तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा सुशासन र विकासका लागि प्रतिबद्धता

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारद्वारा गरिएका निर्णयहरू पूर्णरूपमा कार्यान्वयन गरिने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउने बताउनुभएको छ।
एमाले बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री आचार्यले जनतामा प्रदेश संरचनाको सन्दर्भमा रहेको निराशा, कुण्ठा र आक्रोशलाई राम्रो काम गरेर मात्र सम्बोधन गर्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले भ्रष्टाचारमुक्त सुशासनका लागि गरिएका निर्णयहरूबाट पछि हट्न नहुनेमा जोड दिँदै पाँच लाख रुपैयाँभन्दा माथिका योजना अनिवार्य टेण्डरमा लैजाने निर्णय कार्यान्वयनमा लाग्ने बताउनुभयो । साथै, जनताको गुनासो र सुझावलाई सम्बोधन गर्न प्रत्येक कार्यालयमा सुझाव पेटिका राखी १५ दिनमा त्यसलाई खोलेर मन्त्रालयमा पठाउने व्यवस्था गरिने बताउनुभयो ।
प्रदेश सरकारका थुप्रै योजना अलपत्र परेका कारण ती योजनालाई सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको र प्रदेशले मझौला खालका योजना कार्यान्वयन गर्नेगरी नीतिगत निर्णय गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा एमालेका अन्य नेताहरूले पनि विभिन्न विषयमा सहजीकरण गरेका छन्, जसमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले प्रमुख विषयहरूमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button