तपाईँ सुन्दै हुनुहुन्छः

‘कांग्रेस–एमाले गठबन्धनले जनतामा आशा जागृत गराएको छ’

बाँके । नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव शङ्कर पोखरेलले भन्नुभयो, “संविधान र कानुनमा समयानुकूल सुधारका लागि राजनीतिक रूपमा अनुकूलता रहेको छ, जनताले आशा र अपेक्षा पनि गरेका छन् ।”
उहाँले कांग्रेस एमालेले साझा जिम्मेवारीमा निराशालाई आशामा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । महासचिव पोखरेलले “जनतामा निराशा छ त्यो निराशा चिरेर अब देशले बाटो लिन्छ भन्ने आशा जागृत गराउनुपर्ने जिम्मेवारी छ ।”
महासचिव पोखरेलले १० औँ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभएको छ ।
कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्क्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी सङ्गठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्क्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्नुहुने जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।
उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरी १५० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button