तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे

जुम्ला । जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन र तातोपानीको लामाचौर पाटनमा चट्याङ पर्दा शनिवार एकै दिन ७५ भेडा मरेका हुन् ।
जसमा शनिवार दिउँसो ४ बजेको समयमा पातारासीको चेप्टे पाटनमा चट्याङ पर्दा पातारासी–२ तल्फी गाउँका किसानका करिब ५६ भेडा मरेका छन् । चट्याङमा परी पातरासी गाउँपालिका वडा २ का  अध्यक्ष बल बहादुर वोहोराका ९ वटा, चन्द्रलाल वोहोराका ६ वटा, जोगिलाल वोहोराका २४ वटा, मान बहादुर वोहोराका ६ वटा, लाल बहादुर बोहराको ७ वटा, हिरालाल वोहोराका ४ वटा गरि ५६ वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले जानकारी दिनुभयो ।
भौगोलिक रूपमा चेप्टे पाटन टाढा रहेको र फोन सम्पर्क हुन पनि कठिनाइ हुने भएकोले क्षतिको सम्पूर्ण विवरण अझै नआएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो  । उहाँले हरेक वर्ष चट्याङले किसानलाई ठुलो नोक्सान हुने गरेकोले भेडा पालक किसानलाई अनिवार्य बिमाको पहुँचमा पुराउनु पर्नेमा जोड दिनुभयो । पातारासी कृषि,जडीबुटी सँगै भेडा पालनमा आत्मनिर्भर पालिका हो । तर भेडापालन व्यवसाय प्रर्बद्दनमा भने स्थानीय सरकार चुक्दै आएको छ ।
यता तातोपानी गाउँपालिका वडा नं ४ स्थित लामाचौर पाटनमा चट्याङ पर्दा १९ भेडा मरेका छन् । तातोपानी–४ गिडिखोलाका ४ जना किसानका १९ भेडा मरेको र १८ भेडा बेपत्ता रहेको ४ नम्बर वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताउनुभयो । शनिवार दिउँसो भेडाका बथानमा परेको चट्याङ परेको थियो । खाली पाटनबाट फूलचौल्या तर्फ ल्याउँदै गरेको अवस्थामा दिउँसो करिब ३ बजेर ४७ मिनेटमा लामाचौर पाटनमा चट्याङ पर्दा गिडिखोला गाउँका भेडापालक किसानका १५ भेडा मरेको वडाध्यक्ष रोकायाले जानकारी दिए । यसरी शनिवारनै दुई पालिकाका पाटनमा परेको चट्याङले ७५ भन्दा बढी भेडा मरेका हुन् भने १८ भेडा बेपत्ता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button