तपाईँ सुन्दै हुनुहुन्छः

पाँचदिन देखी कर्णाली राजमार्ग अवरुद्ध: सडक नखुल्दा सरकार गुहार्दै स्याउ किसान र व्यापारी 

जुम्ला । अविरल वर्षापछि आएको बाढी पहिरोले पाँचदिनदेखी   कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग अन्तरर्गत एसमोड,गगनेखोला,दैखोला लगायतका स्थानमा ठुलो बाढी पहिरो आउँदा पाँचदिन देखी यातायात पूर्ण रुपमा ठप्प भएको छ ।
पाँचदिन देखी सडक पूर्ण रुपमा अवरुद्ध भएपछि स्याउ किसान र व्यापारी सबैभन्दा बढी मारमा परेका छन् । ६ दर्जन बढी कारोडौका स्याउ बोकेका ट्रक कालिकोटको ताडी र जिते बजारमा थन्किएका छन् । सडक डिभिजन जुम्लाको कार्यक्षेत्र मान्मदेखी दैखोला सम्म सडक सञ्चालनमा आयो भनिएपनि स्याउका ट्रक जाने अवस्था छैन । गगनेखोलामा अझै पहिरोको जोखिम छ । मान्मदेखी दैखोला सम्म मोटरसाइकल बाहेक अन्य सवारी जान मुस्किल छ ।
त्यस्तै बाढीले दैखोलाको पक्की पूलनै बगाएको छ । उक्त पूल देखी सुर्खेत तर्फ सडक डिभिजन सुर्खेतको कार्यक्षेत्रमा पर्छ । सडक डिभिजन सुर्खेतले अझै दैखोलाको पहिरो पन्छाउन नसक्दा सडक कहिले खुल्ने अनिश्चित बनेको छ । पाँचदिनदेखी सडक अवरुद्ध भएको र खुल्ने विषय अझै अनिश्चित भएपछि जुम्लाबाट स्याउ लिएर गएका किसान तथा व्यापारीले छिटो भन्दा छिटो सडक सञ्चालन गर्न र स्याउका गाडीलाई प्राथमिकता दिन राज्यसँग गुहार गरेका छन् ।  गाडीमा लोड गरिएका स्याउ कुहिन थालेपछि किसान र व्यापारीले सडक खुल्ने बित्तिकै स्याउका गाडीलाई पठाउन पहिलो प्राथमिकता दिनु पर्ने माग सहित आइतबार कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई अनुरोधपत्र बुझाएका छन् ।
किसान बल बहादुर रोकायाले स्याउ कुहिन थालेको र  सडक खुल्ने बित्तिकै पहिलो प्राथमिकताका साथ स्याउका गाडी पठाउन राज्यले विशेष व्यवस्थापन गर्न सिडिओलाई अनुरोध पत्र दिइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मान्मदेखी दैखोला सडक खोलियो भनेपनि गाडी गुड्ने अवस्था छैन । सडकलाई भरपर्दो बनाउन जरुरी छ । दैखोलादेखी सुर्खेतको खण्डमा पनि पहिरो पन्छाइँदै छ । सडक खुल्ने बित्तिकै स्याउ लिन पाउनु पर्ने हाम्रो माग छ । नत्र करोडौँका स्याउ कहिएर खेर जाने निश्चित छ ।’
कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालन नभएपनि मध्यपहाडी लोकमार्ग हुँदै अछामबाट धनगडी स्याउ पुराउन सकिने भएकोले दैखोलाको पहिरो छिटो पन्छाउन समेत माग गरेका छन् । पाँचदेखि देखी कालिकोट क्षेत्रमा जुम्लाबाट गएका स्याउ बोकेका ७० भन्दा बढी ट्रक थन्किएका छन् । सडक अवरुद्ध भएपछि लोड गरिएका केही ट्रक जुम्लामै रोकिएका छन् । भने एक गाडीमा कम्तीमा पनि ५ सय कार्टुन स्याउ लोड गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button