तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट बाँसगढीबासी त्रसित, नियन्त्रणका लागि अपिल

बाँके । बाँसगढी नगरपालिकाका विभिन्न स्थानमा पछिल्लो समय बाघले लगातार जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासी आतङ्कित बनेका छन्। विभिन्न वडामा बारम्बार बाघ देखिने गरेको र घरपालुवा जनावरमाथि आक्रमण गर्ने क्रम बढेको छ।
गत जेठ १० गते बाँसगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिकाकी मनीषा रोकायाको मृत्यु भएपछि स्थानीयबासी त्रसित भएका छन्। त्यसयता बाघले सोझै मानिसलाई आक्रमण नगरे पनि जनावरमाथि आक्रमण जारी राखेको छ।
गत साउन २५ गते बारबर्दिया नगरपालिकाको बैदीमा बाघको आक्रमणबाट जङ्गलमा च्याउ टिप्न गएका स्थानीय चन्द्रबहादुर कसेरा घाइते भएका थिए। पछिल्लो समय बाँसगढीका विभिन्न वडामा बाघ देखिने र घरपालुवा जनावरमाथि आक्रमण गर्ने घटनाहरू बढ्दै गएका छन्।
स्थानीयबासीले पटक पटक बाघ देखिएकाले त्यसको खोजी गर्न र नियन्त्रणमा लिन आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। बाघको त्रासले साँझ-बिहान हिँड्न समेत डराउने अवस्था आएको बताउँदै उनीहरूले चाँडोभन्दा चाँडो बाघ नियन्त्रणका लागि सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोककुमार रामका अनुसार बाघ देखिएका स्थानमा हात्ती र निकुञ्जको टोली परिचालन गरिएको छ। स्थानीय निकायहरूले पनि बाघ नियन्त्रणका लागि सिसी क्यामेरा जडान गरिरहेका छन्।
स्थानीय प्रशासन र वन विभागले बाघको पहिचान र नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। बाघको त्रासका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । यसलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button