तपाईँ सुन्दै हुनुहुन्छः

हरेक आयोजना सम्पन्न गर्न जनस्तरबाट निगरानी गर्नुपर्ने: अर्थमन्त्री विष्णु पौडेल

रुपन्देही । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताउनुभयो।

उहाँले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने बताउनुभयो । आयोजना समयमै सक्न निर्देशन दिँदै उहाँले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उहाँले भन्नुभयो । उहाँले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने विश्वास गर्नुभयो ।
त्यसअघि निर्माण कम्पनीका प्रतिनिधिले सम्झौता अवधि ५ वर्ष भएपनि ३ वर्षमा काम सम्पन्न हुने गरि तयारी गरिएको जानकारी दिएका थिए ।
अर्थमन्त्री पौडेलले भवन मात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।” उहाँले भन्नुभयो ।
१२ सय शय्याको अस्पतालमा ठूलो सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताउनुभयो। अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसाबले सुविधा सम्पन्न अस्पताल बन्न जरुरी रहेको बताउनुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले रुपन्देहीलाई आफूले विकासमा नमूना बनाउन चाहेको बताउनुभयो । “रुपन्देहीलाई विकासमा नमूना बनाउन सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरौँ”–उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिङ्गो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनुभयो । उहाँले आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताउनुभयो। यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्नुपर्ने सभामुख घर्तीको भनाई छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतिपछि यो नमूना अस्पताल बन्ने जनाउनुभयो ।
लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button