तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग व्यापार क्षेत्रमा महिलाको सहभागिता आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग व्यापार क्षेत्रमा महिलाको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा विराटनगरमा आजदेखि शुरु भएको नारी उत्सव–२०८१ को उद्घाटन गर्नुहुँदै उहाँले महिलाले  नेतृत्व गरेको नेपालको उद्योग व्यापार, राजनीतिक एवं सामाजिक लगायत सबै क्षेत्र सफल भएको बताउनुभयो । उहाँले त्यसकारण पनि राज्यले महिलाहरूलाई हरेक क्षेत्रमा अगाडी बढाउन प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले हाम्रो संस्कृति र पुरानो परम्पराले महिलाहरूलाई घरको चुला चौकामा सीमित राखेको अवस्थामा महिलाहरू यो ठाउँमा आइपुग्नु खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।
उहाँले कोशी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लाका घरेलु उद्योग सञ्चालन गर्ने महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरेको बताउँदै यो वर्ष महिला उद्यमशीलता बढाउन प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी गराउनुभयो ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिला अधिकारसँगै उनीहरूलाई आर्थिक र सामाजिक रुपमा सक्षम र सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले यस्ता मेला तथा उत्सवले घरेलु उत्पादनको बजारीकरणमा मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा मिस नेपाल आश्मा केसी र मिस नेपाल अर्थ डा सुमना केसीले महिलालाई हरेक क्षेत्रमा सक्षम बनाउनुपर्ने बताउनुभयो ।
मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिको आयोजनामा भएको उत्सव तिन दिनसम्म सञ्चालन हुनेछ । उत्सवमा घरेलु तथा व्यावसायिक उत्पादनका ६० वटा स्टल रहेको समितिका संयोजक श्रुति शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button