तपाईँ सुन्दै हुनुहुन्छः

व्यवस्थित बीमा प्रणालीको विकास हुनुपर्नेमा मन्त्री पौडेलको जोड

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले स्वास्थ्य बीमा रकमको दायरा बढाएर पाँच लाख पुर्‍याउने प्रस्ताव गरेको बताउनुभएको छ ।

कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज विराटनगरमा आयोजना गरिएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा मन्त्री पौडेलले बीमा रकमको दायर बढाउन मन्त्रालयले प्रस्ताव गरेको र त्यो चाँडै कार्यान्वयनमा आउने बताउनुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा जति खर्च गरेको छ सो रकम एकीकृत र एकद्वार प्रणालीबाट बीमा बोर्डलाई उपलब्ध गराएर बीमाको रकम बढाउन सकिने बताउनुभयो ।

पाँच लाखको बीमा सुविधा नागरिकलाई दिन सम्भव छ भन्नुहुँदै मन्त्री पौडेलले स्रोत सुनिश्चित गर्दै बीमा रकम पाँच लाख पुर्‍याउन मन्त्रालय लागिपरेको बताउनुभयो ।

छरिएर रहेको स्वास्थ्य सुविधालाई एकीकृत ढङ्गमा जोड्दै मन्त्री पौडेलले मुलुकमा सुर्ती र मदिराबाट उठ्ने स्वास्थ्य करको ५० प्रतिशत रकम स्वास्थ्य बीमामा हाल्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले व्यवस्थित बीमा प्रणालीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

कोशी अस्पतालको सेवामा व्यापक सुधारको खाँचो रहेको उल्लेख गर्नुहुँदै उहाँले यो अस्पताल नागरिकका लागि हो र नागरिकले पहिले सेवा पाउनपर्छ भन्ने सोच राखेर सेवा प्रवाह गर्न अस्पतालमा कार्यरत चिकित्सकहरूलाई आग्रह गर्नुभयो ।

आज कोशी अस्पतालमा भएको हस्ताक्षर र सम्झौताले अबुर्द रोग उपचारका लागि नागरिकहरूलाई चितवन र भक्तपुरमा जानुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने उहाँको भनाई थियो ।

“नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कसैलाई छैन, लोकतन्त्रको महशुस गराउन नागरिकलाई स्वास्थ्य सेवा सुविधा सहज, सरलीकृत, गुणस्तरीय र निःशुल्क रुपमा उपलब्ध गराउनुपर्छ ।”, उहाँले भन्नुभयो ।

उहाँले कोशी अस्पतालको सेवा भद्रगोल भएकोमा चिन्ता व्यक्त गर्दै नागरिकले पाउने सेवा सुविधालाई सहज बनाउन मन्त्रालयले बनाएको नियम, कानुनको पालना गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा.रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गर्दै यसलाई सेवा दिने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

हाललाई भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पतालमा प्रत्येक महिना छ देखि १० जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने भक्तपुर अस्पतालका निर्देशक चालिसेले बताउनुभयो ।
कोशी अस्पतालमा वि.सं. २०७२ सालदेखि अबुर्द रोगको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button