तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा सम्बन्धी विधेयक छिटो आउन आवश्यक : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको समस्या समाधानका लागि शिक्षा समितिमा छलफल भइरहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक छिटोभन्दा छिटो आउनु आवश्यक रहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा आज जवाफ दिँदै शिक्षा मन्त्री भट्टराईले मदरसा, गुरुकुल, बालशिक्षा लगायतका धेरैजसो शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न शिक्षा विधेयक महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले प्राविधिक शिक्षा विकास गर्ने र नर्सिङ शिक्षाको आवश्यकता पुरा गर्ने दायित्व सरकारको रहेको भन्दै त्यसतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

उहाँले मदरसा शिक्षालाई व्यवस्थित गर्न धेरै काम गर्नु आवश्यक रहेको, शिक्षा समितिमा विद्यालय शिक्षालाई संशोधन र एकीकृत गर्न बनेको विधेयकमाथि छलफल भइरहेको भन्दै कानुन आएपछि मदरसा, गुरुकुल लगायतका शिक्षामा देखिएका धेरैजसो समस्या हल भएर जाने बताउनुभयो । 

मन्त्री भट्टराईले नर्सिङ शिक्षाका लागि चिकित्सा शिक्षा आयोगले एक सय बेडको अस्पताल भनेपछि नीजि क्षेत्रलाई नर्सिङशिक्षा अध्ययनका लागि दिन नसकिरहेको स्पष्ट पार्नुभयो ।

सिटिइभिटीको कानुन स्पष्ट नगरी नर्सिङ शिक्षा कसरी सञ्चालन गर्ने भन्ने दुबिधा भएकोले सिटिइभिटी सम्बन्धी कानुन एकीकृत परिमार्जनको तयारीमा रहेको पनि मन्त्री भट्टराईले बताउनुभयो । 

उहाँले विद्यालयहरूमा पुस्तक नपुगी रहेको विषयमा आफूलाई ध्यानाकर्षण भएको भन्दै जनकशिक्षा र सम्बन्धित वितरकहरूसँग बुझेर अगाडी बढ्ने बताउनुभयो । 

मन्त्री भट्टराईले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको नतिजा फरक भएकोमा समान स्तर कायम गर्न छोटो अवधिका सिपमूलक तालिमका योजनाहरू बनाइरहेको पनि बताउनुभयो । 

मन्त्री भट्टराईले गुणस्तरीय शिक्षाको सूचकहरू हेर्दा सामुदायिक विद्यालय कमजोर देखिएकाले यसको सुधारका लागि पर्याप्त लगानी, सबैको संयुक्त प्रतिबद्धता, दृढ इच्छाशक्ति र तीनै तहको सरकारबीच सहकार्य, समन्वय आवश्यक रहेको औँल्याउनुभयो ।

विद्यालय सुधारका लागि प्रधानाध्यापकलाई जिम्मेवार बनाई शिक्षकहरूलाई उत्तरदायी बनाउन सक्नुपर्ने र अभिभावकहरूको प्रत्यक्ष निगरानीले मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनाउन सकिने पनि मन्त्री भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button