तपाईँ सुन्दै हुनुहुन्छः

नेपालकै सबैभन्दा ठुलो श्री राधाकृष्ण रथयात्रा निकालियो

विराटनगर । विगतका वर्षहरू जस्तै यो वर्ष पनि विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिएको छ ।

विराटनगरको तिन पैनी स्थित राधाकृष्णको मन्दिरबाट राधाकृष्ण भगवान् विराजमान निकालिएको रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीले रथको विधिपूर्वक पूजाआजा गरेपछि विभिन्न समुदायको झाकी तथा भजन कीर्तनसहित भव्य रुपमा रथयात्रा निकालिएको थियो ।

सवा चार बजे मन्दिर अगाडिबाट निस्केको रथयात्रामा पाँच लाख भन्दा बढी भक्तजन सहभागी रहेको रथयात्रा समारोह समितका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो । विगत ९३ वर्षदेखि विराटनगरमा निकालिँदै आएको सो रथयात्राको आफ्नै धार्मिक एवं ऐतिहासिक महत्व रहेको छ ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछि विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्रा दक्षिण एशियाकै दोस्रो ठुलो रथयात्रा रहेको आयोजक समितिले जनाएको छ ।

राधाकृष्ण भगवानको युगल जोडीलाई रथमा राखेर रथयात्रा निकाल्ने चलन छ । राधाकृष्णको युगल जोडीको प्रतिमा राख्न बनाइएको रथको लम्बाइ २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथमा अगाडीको दाँयावाँया ७५ फिटको लट्ठा डोरी रहने छ र सो डोरीको माध्यमबाट भक्तजनहरूले रथ तान्ने गर्दछन् । कलात्मक शैलीमा भव्य रूपले रथलाई फुल गुच्छाले सिँगारिएको छ । रथ तान्ने डोरी छुँदा तथा रथको दर्शन गर्दा सबै मनोकामना पुरा हुने धार्मिक विश्वास रहिआएको छ ।

विस १९८८ सालदेखि सो मन्दिर परिसरबाट खट यात्राको रुपमा निकालिँदै आएकोमा २०२५ सालदेखि सो खटयात्रा रथयात्रामा परिणत भएको हो ।

खट यात्रामा भगवान् राधाकृष्णको मूर्तिलाई खाटमा राखेर मानिसले बोकेर नगरको परिक्रमा गर्ने गरेकोमा अहिले सो मन्दिरको राधाकृष्णको मूर्तिलाई रथमा राखेर रथयात्रा निकालिन थालिएको हो । आज निकालिएको रथयात्रामा हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button