तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायीक जीवन रक्षा कर्जामा गण्डकी प्रदेशमा १ अर्ब ८१ करोड कर्जा प्रवाह

पोखरा । गण्डकी प्रदेशमा सञ्चालन भएको व्यवसायीक जीवन रक्षा कर्जामा १ अर्ब ८१ करोड ३० लाख कर्जा प्रवाह भएको छ । गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरूको उत्थानको लागि ल्याएको व्यवसायीक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रम २०७७/०७८ बाट चैत मसान्तसम्ममा उक्त रकम बराबरको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयले जनाएको छ । 

प्रदेशका १ हजार ६ सय ३८ वटा व्यवसायी (ऋणी) मध्य हालसम्म २ सय ५१ वटा व्यवसायीहरूले कर्जा चुक्ता गरेको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका निर्देशक विना ढकाल पौडेलले बताउनु भयो । प्रदेशका १ हजार ३ सय ८६ व्यवसायीबाट ३१ करोड ८८ लाख बक्यौता रकम उठ्न बाँकी रहेको उहाँले जनाउनु भयो । 

४ वर्गमा वितरण गरिएको उक्त कर्जा मध्य सबैभन्दा बढी अंश (४४.०३ प्रतिशत) साना पर्यटन व्यवसाय र सबै भन्दा कम कर्जा (५.१५ प्रतिशत) साना यातायात व्यवसाय क्षेत्र तर्फ रहेको थियो । गत चैत्र मसान्तसम्म १ अर्ब ४९ करोड बराबरको साँवा रकम चुक्ता भएको कार्यालयले जनाएको छ । 

प्रवाह भएको कुल कर्जा लगानी रकमका आधारमा कास्की जिल्लामा सबैभन्दा बढी अर्थात् ४४.५० प्रतिशत र तनहुँ जिल्लामा १०.७० प्रतिशत लगानी रहेको छ भने अन्य जिल्लाहरूमा १० प्रतिशत भन्दा कम लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । कर्जा योजना शुरु भए देखि आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिकसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूलाई ३२ करोड ४१ लाख ५४ हजार ४ सय ५१ रुपैयाँ व्याज शोधभर्ना प्रदान गरिएको निर्देशक पौडेलले उल्लेख गर्नु भयो । उक्त कोषबाट ३ देखि ५ वर्षको लागि ५० हजारदेखि १५ लाखसम्म निर्ब्याजी कर्जा प्रवाह भएको थियो । उक्त परियोजना १५ वटा वाणिज्य बैङ्क तथा ४ वटा बिकास बैंकले कार्यान्वयन गरेका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button