तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै, पाँच लाख भक्तजनहरूको सहभागिता रहने 

विराटनगर । विगतका वर्षहरू जस्तै यो वर्षपनि विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै छ । कृष्णाजन्माष्टमीको भोलीपल्ट विगत ९३ वर्षदेखि निकालिँदै आएको सो रथयात्राको आफ्नै धार्मिक एवं ऐतिहासिक महत्व रहेको छ । 

विराटनगर महानगरपालिकाका वडा नं. १ स्थित राधाकृष्णको मन्दिरबाट आज अपराह्न साढे तीन बजे रथयात्रा निकालिने  रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । 

नेपालकै सबैभन्दा ठुलो राधाकृष्ण  रथयात्रा मानिने यस रथ यात्रामा नेपाल र  भारतका गरी पाँच लाख बढी भक्तजनको सहभागिता रहने  विश्वास लिइएको समितिका अध्यक्ष रेग्मीले बताउनुभयो । रथयात्राको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । 

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछि विराटनगरमा आयोजना हुने यो राधाकृष्ण रथयात्रा एशियाकै दोस्रो ठुलो रथयात्रा रहेको आयोजक समितिले जनाएको छ । 

  रथ यात्रामा राधाकृष्णको  प्रतिमा राखिने छ ।  २२ फिट लम्बाई १४ फिट चौडाई  र १८ फिट उचाई रहेको रथलाई ७५ फिटको लट्ठाले तानिनेछ । रथलाई कलात्मक शैलीमा भव्य रूपले सिँगारिएको छ । 

मन्दिरबाट सुरु हुने यात्रा विराटनगरको मेनरोड, ट्राफिकचोक, रोडशेष हुँदै महेन्द्रचोक, धरानरोड, वरागाछीहुँदै पुनः मन्दिर परिसर आइ समापन हुने छ । रथ यात्रा गर्दा ४३ स्थानमा विश्राम गरिने छ । रथले ९ किलोमिटरको दुरी ६ घण्टाको समय अवधिमा पुरा गर्ने आयोजक समितिले जनाएको छ । 

वि.सं. १९८८ सालबाट सुरु भएको यो रथ यात्राको सुरक्षाका लागि बाक्लो सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । रथयात्रामा ठुलो भिड हुने गरेकाले शान्ती सुरक्षाका लागि नेपाल प्रहरी तथा सादा पोशाक प्रहरी परिचालन गरिने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले सुरक्षाकर्मीको साथसाथै प्रहरीले डिजिटल निगरानीसमेत गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button