तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति आउनुहुँदै

पाल्पा। नेपाली सेनाले अङ्ग्रेजलाई युद्धमा हराएर विजय उत्सबको रूपका मनाइने ऐतिहासिक भगवती जात्रा (खट यात्रा) आज निकालिँदै छ ।

पश्चिम नेपालको मुख्य जात्राको रूपमा रहेको भगवती जात्रामा पूजाअर्चना तथा जात्रा अवलोकनका लागि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल आज तानसेन आउनुहुने भएको हो । साथै जात्रा अवलोकन गर्नका लागि लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा आउनुहुने भगवती गुठी प्रचारप्रसार संयोजक पदम न्यौपानेले जानकारी दिनुभयो ।

नेपालले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने यो भगवती जात्रा २ सय ५ औँ हो । भगवती जात्राको तयारी पूरा भएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो ।

जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज सार्वजनिक बिदा दिइएको छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न सङ्घसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गर्ने गर्दछन् ।

यस्तो भगवतीको महिमा

कर्णेल उजीरसिंह थापाले युद्धमा निस्कनुअघि विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए । युद्धमा विजयी भएपछि विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेको थियो ।

इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार पाल्पामा वर्षभरि विभिन्न देवीदेवताका रथयात्रा गरिन्छ । तर श्री ७ रणउजीरेश्वरी भगवतीको खटयात्रा फरक छ जुन ‘पाल्पाको भगवती जात्रा’ का नामले प्रसिद्ध छ । यस जात्राको धार्मिक महिमा आफ्नै ठाउँमा छ। कम्पनी सरकारलाई परास्त गरी विजयश्री हासिल गरी राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि यस रथयात्रासँग गाँसिएको छ।

हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ। कम्पनीले सन् १८५८ मा भारतीय साम्राज्यलाई एउटा मूल्यवान् उपहारका रुपमा ‘हर मैजेस्टी’ लाई बुझाउने निर्णय ग–यो। भारतमा ईष्ट इन्डिया कम्पनी शासनको अन्त्य र ब्रिटिस ताज शासनको स्थापना भयो।

यसरी हेपाहा प्रवृत्तिले गर्दा व्यापारिक संस्थाबाट सम्पूर्ण भारतमा आधिपत्य कायम गरेको ‘इष्ट इन्डिया कम्पनी’ भूतकालको महाविस्मरण–सागरमा विलीन हुन पुग्यो। तर वीरता, धीरता, रणकौशल, राष्ट्रियता र राष्ट्रिय गौरवको गाथासँगै नेपाल, ‘नेपाल’ नै रहेको इतिहासका जानकार श्रेष्ठले बताउनुभयो ।

पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाइँमा अङ्ग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । त्यसपछि भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पूजापाठ गर्दै शहर परिक्रमा गराइएको थियो । जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button