तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज म्याराथनलाई विशेष बनाउन १० किमी रात्रि दौड आयोजना हुने

बाँके । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई विशेष बनाउन नेपालगन्जमा पहिलो पटक १० किमी रात्रि दौड आयोजना गरिने भएको छ।

संविधान दिवसको अवसरमा २०८१ असोज ३ गते बिहीबार राति ९ बजे स्थानीय बीपी चोकबाट दौड सुरु हुनेछ। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट प्रमाणीकरण गरिएको रुटमा यो दौड सञ्चालन गरिने छ।

आयोजक क्रियटिभ ह्याण्डसले यो दौडसँगै अन्य १० इभेन्ट पनि आयोजना गरिने जानकारी दिएको छ। म्याराथनको १० औँ संस्करण आउँदो २२ मङ्सिर २०८१ शनिवारका दिन हुने घोषणा भइसकेको छ, जसका लागि खेलाडी दर्ता १ भदौदेखि खुलिसकेको छ।

यो रात्रि दौडमा व्यावसायिक र कम्तीमा ५ किमी दौडको अनुभव भएका धावक-धाविकाहरूलाई मात्र सहभागी गराइने छ। पुरुष, महिला, र भेट्रानतर्फ छुट्टाछुट्टै स्पर्धा हुनेछ। विजेताहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसमा पुरुष र महिलातर्फ शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार, र १० हजार नगद पुरस्कार दिइनेछ। भेट्रानतर्फ क्रमशः १५ हजार, १० हजार, र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button