तपाईँ सुन्दै हुनुहुन्छः

दशैँअघि नै दुग्ध र उखु किसानले भुक्तानी पाउँछन् : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दुग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो ।

बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

विषादी मुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उहाँले सुनाउनुभयो ।

“व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्तरमा कृषिका नमूना फार्म निर्माण गरेर त्यसलाई सिकाइ केन्द्रका रुपमा स्थापित गरिने छ, स्थानीय तहमा पशु अस्पताल बनाइने छ, साना किसानलाई मन्त्रालयसम्म आउने वातावरण तयार पार्ने मन्त्रालयको योजना छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

मध्यपहाडी जिल्लामा रैथाने बाली संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने, कृषिसँग सरोकार भएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण, ऊर्जा तथा सिँचाइ, अर्थलगायत मन्त्रालयसँग समन्वय गरेर कृषि क्षेत्रको विकासमा काम गर्नेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।

हाल ३० लाख हेक्टर खेती योग्य जमिनमा मात्र खेती भएको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले बाँकी १० हेक्टर जमिनमा पनि खेती गराउने गरी नीति निर्माण गरिने योजना सुनाउनुभयो ।

धान, चामल आयातलाई घटाउन उत्पादन वृद्धि गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीमा थप आत्मनिर्भर बनाउने, दुग्ध विकास संस्थानको पुनः संरचना गर्ने कार्यक्रमलाई पनि रहेको उहाँले जानकारी दिनुभयो । रासायनिक मलमा अनुदान, उखु किसानलाई भुक्तानी र बीमा प्रिमियमका लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button