तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी मह ब्राण्डिङ्ग गरेर बजारीकरण अभियानमा किसान

चितवन । चितवनमा महको ब्राण्डिङ्ग गरेर बजारीकरण अभियानमा मौरीपालक किसानले अभियान शुरु गरेका छन् ।

कोरोनापछि स्वदेशी महको बिक्रीमा ह्रास भई भण्डारण भएपछि किसानले यो अभियान थालेका हुन् । स्वदेशी महको प्रचारप्रसारका लागि प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले पनि वित्तीय सहयोग गर्दै आएको छ । चितवनमा सबैभन्दा बढी उत्पादन हुने मौरी जोन कालिका नगरपालिकाबाट बजारीकरण थालिएको हो ।

यसअघि नै चितवनमा ४ ठाउँबाट महको ब्राण्डिङ्ग गर्ने योजना रहेपनि देशमा भएको आर्थिक सुस्सताले हाल नेपाली महको ब्राण्डिङ्ग गरेर बजारीकरण गर्न शुरु गरेको हो ।

पूर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमलमा ‘नाइन नेक्टर’ ट्रेडमार्क दर्ता गरेर किसान शिवप्रसाद पौडेलले पौडेल बी फर्म अन्तर्गत मौरी घर सञ्चालनमा ल्याउनुभएको हो । नेपाली महलाई प्रशोधित गरी ब्राण्डिङ्ग गरेर बजारीकरण गर्दा बिक्रीमा सहज हुने भएकोले यो अभियानको थालनी गरेको उहाँको भनाई छ । ‘स्वदेशका ठूला मार्केट हुन् या विदेश निर्यात गर्न होस्, ब्राण्ड लेबलिङ्गको आवश्यकता पर्दो रहेछ पौडेलले भन्नुभयो, यसले उपभोक्तामा विश्वास र किसानको महको बिक्री बढ्ने अपेक्षा छ ।’

शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमका बीच कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले मह घरको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले मौरीपालक किसानलाई मह उत्पादन र बजारीकरण सहयोग गरिने बताउनुभयो ।

महको बजारीकरणको लागि आफु मन्त्रालय पुगेको उल्लेख गर्दै मेयर रेग्मीले आयत रोकेर स्वदेशी उत्पादनको बजारीकरणको लागि काम गर्न सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख महेश रेग्मीले महको बजारीकरणको लागि कार्यालयले प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

नेपालमै उत्पादन महमध्ये ५२ प्रतिशत मह चितवनमा उत्पादन हुने गर्दछ । महले बजार नपाउँदा हाल नेपालभर ३ हजार मेट्रिक टनको हाराहारीमा मह भण्डारण छ भने चितवनमा मात्रै ८०० मेट्रिक टन मह भण्डारणमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button