तपाईँ सुन्दै हुनुहुन्छः

गोरखकाली मन्दिर र गोरखनाथ गुफाको भेटी व्यवस्थापन गरिने

गोरखा । यसअघि पुजारीले आफ्नो तजबिजले प्रयोग गर्दै आएको गोरखकाली मन्दिर र गोरखनाथ गुफाको भेटी व्यवस्थापन गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले भेटी व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।

मन्दिरको भेटी तथा प्रसाद व्यवस्थापनका लागि कार्यविधि तयार गरी लागू गर्न गोरखा दरबार हेरचाह अड्डालाई अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ भोला दाहालले जानकारी दिनुभयो ।

“गोरखकाली मन्दिर र गुरु गोरखनाथ क्षेत्र व्यवस्थापन समिति पनि गठन त्यसका लागि दरबार हेरचाह अड्डामार्फत सम्बन्धित निकायमा अनुरोधका लागि लेखी पठाउने निर्णय गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो ।

मन्दिरको पूजा र पुजारी व्यवस्थापन एवं कार्यालय व्यवस्थापनलाई समयानुकूल सुधार गर्दै लैजाने जिम्मेवारी दरबार हेरचाह अड्डालाई दिइएको छ ।

गोरखकाली र गोरखनाथ पूजाको व्यवस्थापकीय सुधारका लागि सुझाव दिन प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।

समितिको सदस्यहरूमा होम सिंह बस्न्यात, नरेन्द्र ढकाल, मोहनलाल श्रेष्ठ, राजेन्द्र कुमार जोशी, सुरेशमान श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ रहेका छन् ।

उक्त समितिले १५ दिनभित्र सुझाव तयार गरी गोरखा दरबार हेरचाह अड्डालाई बुझाउनुपर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button