तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा ‘लाम्खुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन

गोरखा । डेङगु नियन्त्रणका लागि गोरखा नगरपालिकाले ‘लाम्खुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

आज गोरखा सदरमुकामस्थित कट्टेलचोकदेखि आयुर्वेदिक चोकसम्म सरसफाई कार्यक्रम गरेर नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

डेङगुलगायत किटजन्य रोग नियन्त्रणका लागि लार्भा खोजी गरी नष्ट गर्न सो अभियान सञ्चालन गरिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुबप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

“खोलखोले साइडमा ग्यारेजहरू धेरै छन् । त्यस क्षेत्रमा डेङ्गुको जोखिम बढ्ने हुँदा त्यस क्षेत्रलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

अभियान अन्तरगत लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लार्भा नष्ट गर्ने तथा सरसफाई कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । अभियानलाई निरन्तरता दिइने अधिकृत घिमिरेले बताउनुभयो ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ ।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरको अध्यक्षतामा सञ्चालित अभियानमा नगरपालिका उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button