तपाईँ सुन्दै हुनुहुन्छः

जिम्मेवारी लिने तर पुरा नगर्ने प्रवृत्तिले समस्या निम्तियो : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने तर, पुरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताउनुभएको छ । निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरू देखिएको भन्दै समयमा जिम्मेवारी पुरा गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

‘दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार’ मुख्य नारासहित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताउनुभयो । सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको जानकारी दिनुभयो ।

योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले निर्माणको कामलाई प्रतिस्पर्धाको माध्यबाट अघि बढाउन खोजेको स्पष्ट पार्नुभयो ।

योजना कार्यान्वयन गर्दा सरकारले गत वर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको छ । तर, स्रोत जुटाउने गरी सरकारले पहल लिएको भनाई उहाँको छ । गत बर्ष खानेपानी आयोजनाको लागी ५८ करोड रकम भुक्तानी गरेर विचमा रोकिएका आयोजनालाई गति दिने काम गरिएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले गर्ने राम्रो कामको नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा हुने भएकाले त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

नेपाल निर्माण उद्योग परिषद् लुम्बिनीका अध्यक्ष टोपबहादुर रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्म चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायी सँगै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल इन्जिनिएर्स एसोसिएसनका पूर्व डिभिजन प्रमुख जयलाल मरासिनी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, नेकपा एमाले अध्यक्ष बालकृष्ण काउचा, रुपन्देही जिल्ला पार्टी अध्यक्ष यज्ञ गैरे, एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्य, परिषद्का इन्चार्ज पुण्यप्रसाद पौडेल लगायतले सही नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भन्दै त्यसतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button