तपाईँ सुन्दै हुनुहुन्छः

ताया: मचा नृत्य प्रतियोगिता सुरु

पोखरा । पर्यटनको राजधानी पोखरामा ताया: मचा नृत्य प्रतियोगिता २०८१ सुरु भएको छ । नेवा खल: कास्कीको आह्वानमा पोखराको नयाँ बजार साँस्कृतिक समितिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

उक्त प्रतियोगितामा पोखरासहित कास्कीका विभिन्न टोलबाट पुरुष तथा महिलातर्फ २७ टिम सहभागी भएको उहाँले जनाउनुभयो । प्रतियोगितामा पुरुषतर्फको विजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यस गरी उपविजेताले २ लाख र तेस्रोले १ लाख र सान्त्वना हुनेले भने ३० हजार पुरस्कार प्राप्त गर्ने संयोजक श्रेष्ठले जनाउनुभयो । प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ८ टिम सहभागी छन् ।

महिलातर्फ भने विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पुरुष भन्दा महिलाको टिम नै कम सहभागिता हुने भएकोले गर्दा महिलाको पुरस्कार राशिमा खासै वृद्धि गर्न नसकिएको आयोजकले जनाएको छ ।

उक्त पुरस्कारका लागि स्वर्गीय हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा रामकाजी श्रेष्ठ, रविन्द्र, शङ्कर र कविन्द्र श्रेष्ठले आर्थिक सहयोग गर्नुहुने भएको छ । गत वर्ष पोखराको रानिपौवामा प्रतियोगिता भएको थियो ।

२ सय वर्ष पुरानो मौलिक एवं ऐतिहासिक ताया: मचा नृत्यले पोखराको संस्कृति पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो । २०५८ सालमा मुस्किलले ८ वटा समूहले ताया: मचा नृत्य प्रदर्शन गर्ने गरे पनि पछिल्लो समय टिम सहभागिता बढिरहेको उहाँले जनाउनुभयो । पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पर्यटनका लागि कला संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा पर्यटन, खेलकुदसँगै कला संस्कृतिमा समेत धनी शहर भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button