तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा बस दुर्घटना अपडेट : २७ जनाको मृत्यु, १६ घाइते

गोरखा । तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरा भन्ने ठाउँमा भएको बस दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार बसमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उद्धारको काम सकिएको तनहुँका प्रहरी प्रमुख विरेन्द्र शाहीले बताउनुभयो । घाइतेहरू मध्ये अधिकांशको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

वेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

भारतीय राजदूतावासका अधिकारीहरू आँवुखैरेनी अस्पताल आइपुगेका छन् । उनीहरूका आफन्त र दूतावासका कर्मचारी मार्फत शवको सनाखत भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो । २६ जनाको आँबुखैरेनी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको चितवनस्थित अस्पतालमा मृत्यु भएको प्रजिअ गौतमले बताउनुभयो ।

आँबुखैरेनी अस्पतालमा १५ महिला र ११ पुरुषको मृत्यु भएको छ भने चितवनमा एक बालकको मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव अस्पतालमै रहेको प्रजिअ गौतमले जानकारी दिनुभयो । गम्भीर अवस्थामा रहेका घाइतेहरूको प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको आँवुखैरेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डिवि क्षत्रीले बताउनुभयो ।

बसमा चालक र सह चालकसहित ४३ जना सवार रहेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यात्रुबहाक बस आज बिहान पोखराको मझेरी रिसोर्टबाट काठमाडौँका लागि छुटेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button