तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुने छैन: मन्त्री भण्डारी

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे उपभोक्ताकर्मीसँग छलफल गरेको छ । 

सिंहदरबारस्थित समितिमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब आउने चाडपर्वमा दैनिक खाद्यवस्तुको अभाव हुन नदिन सरकारले आफ्नो तयारी गरिरहेको बताउनुभयो । 

मन्त्री भण्डारीले खुल्ला सीमा र बजेटमा करको दर निर्धारणबाट बजार प्रभावित हुने भएकाले यसप्रति सचेत रहेको भन्दै जनतालाई सहज र सुलभ आपूर्ति गर्न सरकार जिम्मेवार रहेको बताउनुभयो । 

मन्त्री भण्डारीले चाडपर्व लक्षित यो वर्ष पनि ४३ भन्दा बढी ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गरिने र अनलाइन सेवा पनि प्रवाह गरिने, चिनी लगायत अन्य खाद्य वस्तुको अभाव हुन नदिन अहिलेदेखि नै तयारी भइरहेको जानकारी दिनुभयो । 

बैठकमा उपभोक्ता अधिकारकर्मीहरूले चाडपर्वमा मात्र नभएर सबै दिन उपभोक्ता मैत्री वातावरण बनाउनुपर्ने, विषादी परिक्षण गर्न औजार खरिद गरी फलफूल तथा तरकारीबाट लागिरहेको रोगलाई हटाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उपभोक्ता अधिकारकर्मीहरूले सातै प्रदेशमा भएको अनुगमन संयन्त्रलाई सक्रिय बनाउनुपर्ने, समयसापेक्ष कृषि तथा वाणिज्य नीति ल्याइनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button