तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु, १६ घाइते

गोरखा ।  तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिनुभयो । शुक्रबार बिहान पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठुलै हताहती भएको प्रहरीले जानकारी दिएको छ । 

तनहुँका प्रहरी नायव उपरिक्षक दीपक कुमार रायले उद्धारको क्रम जारी भएकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ  । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् । घाइतेहरूको आँवुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका घाइतेहरूलाई चितवन मेडिकल कलेज भरतपुर पठाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button