तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोटमा चार जिल्लाको लाखेनाच

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा बिहीबार चार जिल्लाको १० भन्दा बढी लाखेनाच प्रदर्शन गरिएको छ । सांस्कृतिक परम्परा आदानप्रदान गर्न र पर्यटन प्रवर्द्धनको लागि भीमेश्वर नगरपालिकाको सहयोगमा लालिगुँरास युवा क्लब चरिकोटले लाखेनाच प्रदर्शनी कार्यक्रमको आयोजना गरेको अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो ।

बिहीबार सदरमुकाम चरिकोटमा दोलखा जिल्लाको चरिकोट, जिरी र लापिलाङ, रामेछापको मन्थली, चिसापानी र भँगेरी, काभ्रेपलाञ्चोकको धुलिखेल, काठमाण्डौको मच्छेगाँउ लगायतबाट १० भन्दा बढी लाखेनाच प्रदर्शन गरिएको थियो ।

लाखेनाच प्रदर्शन कार्यक्रममा दोलखा लगायत छिमेकी जिल्लाबाट सयौँ मानिस सहभागी भएका थिए । प्रदर्शनमा आएका सबै लाखेले चरिकोट बजार परिक्रमा गरेपछि सातदोबाटो चोकमा पालैपालो नाच प्रदर्शन गरिएको क्लबका सचिव विपिन श्रेष्ठले बताउनुभयाे । यस अघि सदरमुकाम चरिकोटमा काठमाडौँ मच्छेगाँउको लाखे भने एक दिन प्रदर्शन गरिँदै आएको थियो ।

लालिगुँरास युवा क्लबले चरिकोट गुठीको सहकार्यमा प्रत्येक बर्ष गठेमङ्गलदेखी कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म चरिकोट बजारमा लाखेनाच प्रदर्शन गर्दै आएको छ । झण्डै डेढ सय बर्ष अघि चरिकोट पुरानो बजारमा नेवार समुदायको बसोबास सुरु भएपछि विभिन्न पर्व तथा जात्राको सुरुवात भएको हो । 

ऐतिहासिक दोलखा सहरमा प्रदर्शन गरिने लाखे नाचको सिको गर्दै २०१६ सालबाट सदरमुकाम चरिकोटमा समेत लाखेनाच प्रदर्शन सुरु गरिएको चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले बताउनुभयो । 

भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धर झण्डै ६५ बर्ष अघिदेखि सुरु भएको लाखेनाचले सदरमुकामको रौनक बढाएको उल्लेख गर्दै सांस्कृतिक विकास र जात्रा– पर्वहरूको संरक्षण, प्रवर्धनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

सदरमुकाम चरिकोटमा लाखेनाच प्रदर्शन अघि गठेमङ्गल (घण्टाकर्ण) को बेलुका नाट्यस्वीको पूजा गरेर परालको राक्षस बनाई बजार घुमाएर चोकमा जलाउने प्रचलन रहेको छ । घण्टाकर्ण राक्षसले बच्चालाई दुख दिने गरेकोले यसरी गठेमङ्गल (घण्टाकर्ण) को दिन त्यसलाई सबैको अगाडि जलाइएको किंवदन्ती पाइन्छ । त्यसरी घण्टाकर्णको दिन परालको राक्षसलाई जलाएपछि भोलिपल्टबाट लाखेनाच प्रदर्शन गरिने र कृष्ण जन्माष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले चक्रले हानेर लाखेलाई मारेपछि एक वर्षको लागि लाखेनाच अन्त्य गरिने प्रचलन रहेको लालिगुँरास युवा क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

क्लबले चरिकोटमा प्रदर्शन गरिने लाखेनाचलाई जिल्लाको जिरी, मैनापोखरी, किर्नेटार, मागादेउराली, सिंगटी, काठमाडौँको मच्छेगाँउ र चितवनमा समेत प्रदर्शनको लागि लगेको र सोही क्रममा यो बर्ष अन्य जिल्लाको लाखेनाच समेत चरिकोटमा प्रदर्शनको लागि ल्याउने कार्यक्रम बनेको क्लबका सचिव विपिन श्रेष्ठले बताउनुभयो । 

चरिकोटमा विभिन्न जिल्लाको लाखेनाच प्रदर्शन गरिदा सांस्कृतिक आदानप्रदानसँगै सदरमुकामको आर्थिक विकासमा समेत टेवा पुग्न सक्ने उद्योग वाणिज्य महासङ्घको पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धर बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button