तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा मौसमी रोगका बिरामी बढे

बाँके । भेरी अस्पताल बाँकेमा भाइरल ज्वरो, रुघाखोकी, र झाडापखालाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ।

अस्पताल प्रशासनका अनुसार, पछिल्लो केही दिनदेखि मौसमी रोगका बिरामीहरू अत्यधिक मात्रामा उपचारका लागि अस्पतालमा आउन थालेका छन्।

भेरी अस्पतालका निमित्त मेसु डा.किर्तीपाल सुवेदीका अनुसार, दैनिक हजारभन्दा बढी बिरामी अस्पतालमा उपचारका लागि आउने गर्दछन्। अधिकांश बिरामीमा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, र निमोनिया जस्ता समस्याहरू देखिने गरेको छ । “वर्षायाम र खेतीको समयमा बिरामीको सङ्ख्या घटे पनि अहिले मौसमी ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या पुनः बढेको छ”, डा. सुवेदीले भन्नुभयो । सामान्य अवस्थामा ७÷८ सय बिरामी आउने गरे पनि हाल केही चाप बढेको उहाँले जानकारी दिनुभयो।

डा.सुवेदीले मौसमी सङ्क्रमणबाट जोगिनका लागि बिरामीहरूले पानी उमालेर पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने, र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने सल्लाह दिनुभयो। उहाँले टाइफाइड जस्ता सङ्क्रमणहरू खानपानबाट सर्ने भएकाले बिरामीहरूलाई सफा पानी पिउन र स्वास्थ्यकर खाना खान सुझाव दिनुभयो ।

भेरी अस्पतालमा सेवा सुविधा प्रभावकारी भएकाले बाँके जिल्लासँगै छिमेकी जिल्ला दाङ, सुर्खेत, र बर्दिया लगायतका क्षेत्रबाट पनि बिरामीहरू उपचारका लागि आउने गर्दछन् ।

जिल्लामा हालसम्म डेङ्गुका बिरामी नदेखिएको जानकारी दिनुहुँदै डा.सुवेदीले लामखुट्टेको टोकाइबाट बच्न सतर्कता अपनाउन, सरसफाइमा ध्यान दिन, र नियमित झुलको प्रयोग गर्नुपर्ने बताउनुभयो।

जिल्लाका अन्य मेडिकल तथा निजी क्लिनिकहरूमा पनि भाइरल ज्वरो र झाडा पखालाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको जनाइएको छ। मौसमी सङ्क्रमणबाट बच्नका लागि नागरिकहरूलाई सजग रहन चिकित्सकहरूले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button