तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभाव हुँदा नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम प्रभावित

बाँके । बजेट अभाव भएपछि बाँकेको नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम प्रभावित हुने भएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्ज र निर्माण कम्पनी शर्मा एण्ड शर्मा कम्पनीले आगामी दसैँभित्र बर्दिया सदरमुकाम गुलरियासम्म सडकको काम पूरा गर्ने लक्ष्यसहित काम गरिरहेको भए पनि निर्माण कम्पनीले समयमै भुक्तानी पाउन नसक्दा सडकको काम प्रभावित हुन पुगेको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले राष्ट्रिय गौरवका आयोजनामा बजेट अभावमा निर्माण कम्पनीलाई भुक्तानी दिन नसक्दा काम नै प्रभावित हुन थालेको बताउनुभयो ।

शर्मा एण्ड शर्मा कम्पनीलाई गत आवमा सम्पन्न भएको कामको करिब ४० करोड रुपियाँ चालु आवको साउनमा भुक्तानी दिइएको छ । करिब २८ करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको योजना कार्यालयले जानकारी दिएको छ। यो सडक खण्डको बाँके खण्डमा सडक कालोपत्रे भइसकेको छ । बर्दियामा पनि कलोपत्रेको काम जारी छ । पछिल्लो समय बजेट अभावले काममा सुस्तता आएको कार्यालयले जानकारी दिएको छ ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपियाँमा निर्माणको जिम्मा पाएको थियो । उक्त सडक ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक बिस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न गर्ने गरी गत बर्ष माघ १५ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button