तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षमा १५ हजार जनाको आँखाको उपचार

गोरखा । एक वर्षमा गोरखाका १५ हजार मानिसहरूको आँखाको उपचार भएको छ ।

गोरखा लायन्स आँखा सेवा केन्द्रका अनुसार गत बर्ष ओपिडी सेवाबाट महिला ९ हजार ४ सय २८ र पुरुष ५ हजार ७ सय ८ जना गरी १५ हजार एक सय २६ जनाले सेवा लिएका हुन् । उनीहरूमध्ये ४ हजार दुई सय ८१ जनालाई चस्मा वितरण गरिएको अर्यालले जानकारी दिनुभयो ।

गएको आर्थिक वर्षमा ३८७ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । सदरमुकाममा सञ्चालित गोरखा लायन्स आँखा सेवा केन्द्रमा गत आर्थिक वर्ष २०८०/०८१ मा तिन सय ८७ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको हो ।

गोरखा नगरपालिकाका एक सय ६६ जना र अन्य पालिकाका दुई सय २१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले बताउनुभयो ।

केन्द्रले हरेक महिनाको तिन दिन मोतियाविन्दुकाे शल्यक्रिया गर्दै आएको छ । सहिद लखन गाउँपालिकाका ४० जना, बारपाक सुलिकोट गाउँपालिकाका ३५ जना, सिरानचोक गाउँपालिकाका २७, भीमसेन थापाका २२, पालुङटार नगरपालिकाकाका २७, अजिरकोटका ११ जना, गण्डकीका १५ जना, धार्चेका ९ जना, आरुघाट गाउँपालिकाका ४ जना गरी ३६६ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको हो । छिमेकी जिल्ला लमजुङ र तनहुँ तथा अन्य जिल्लाका २१ जना आँखाका बिरामीको शल्यक्रिया भएको छ ।

गोरखामा पछिल्लो वर्षदेखि केन्द्रमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको केन्द्रका चिकित्सक कुम प्रसाद पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button