तपाईँ सुन्दै हुनुहुन्छः

सक्कली सङ्घीयता कार्यान्वयनमा ल्याउन संविधान संशोधन : महामन्त्री थापा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताउनुभएको छ ।

उहाँले वर्तमान सरकार साँढे ३ वर्ष नै चल्ने र कुनै पनि उथलपुथल नहुने बताउनुभयो । नेकपा एमालेको उपद्रोलाई आफूहरूले रोक्ने र काँग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पूरा अवधिसम्म नै चल्ने दाबी उहाँले गर्नुभयो ।

महामन्त्री थापाले संविधान गतिशील दस्ताबेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने भन्दै संविधानलाई चलायमान बनाउन आवश्यक रहेको चर्चा गर्नुभयो । महामन्त्री थापाले अहिलेको सङ्घीयता नक्कली भएकाले संविधान संशोधन गरेर सक्कली सङ्घीयता कार्यान्वयनमा ल्याउने प्रष्ट पार्नुभयो ।

यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर सुरु हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएको बताउनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरू जनताभन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताउनुभयो ।

नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने बताउनुभयो ।

३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द पोखरेल, डा. सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button