तपाईँ सुन्दै हुनुहुन्छः

छेकम्पारको नुइला नाका खुल्यो

गोरखा । उत्तरी गोरखामा छेकम्पार स्थित नुइला नाका आजदेखि खुलेको छ । २०७६ साल पुष महिनादेखि कोभिडको कारण देखाउँदै चीनले उक्त नाका बन्द गरेको थियो ।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा र तिब्बती अधिकारीहरुबीच जेठ महिनामा असार १५ बाट नाका खुलाउने सहमति भएको थियो । प्राविधिक कारण देखाउँदै असार १५ मा नाका खुला गर्न चिनियाँ पक्षले ढिलाइ गरेको थियो ।

नाका खुलेसँगै नेपालीहरू सामान किन्न तिब्बती बजार जान पाउने भएका हुन् । नागरिकता र सीमा पार पास लिएर जानेले मात्र प्रवेश पाउनेछन् । तिब्बती बजार स्याकसम्म चुमनुब्रीका नागरिकहरू जान पाउने भएका हुन् ।

आजदेखि खुला गरिएको नाकाबाट मान्छे र घोडा मात्र जान पाउने चिनियाँ पक्षले जानकारी दिएको स्थानीय छिरिङ घुर्मे लामाले बताउनुभयो ।

चीनसँग चुमनुब्री गाउँपालिकाको दुइवटा नाका पर्दछन् । वडा नम्बर १ को रुइला नाका र वडा नम्बर ७ को नुइला नाका ।

नाका खुलेपछि स्थानीयहरूलाई दैनिक उपभोग्य सामग्री किनमेल गर्न सहज हुने चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । सामागाउँ तर्फको लार्के हुँदै जाने रुइला नाका भने अझै पनि नखुलेको स्थानीय डोल्मा लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button