तपाईँ सुन्दै हुनुहुन्छः

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको छ।

प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशसभाका नेपाली कांग्रेसका २७, नेकपा एमालेका २९ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त  हुनु भएको थियो । 

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् । एमालेले विश्वासको मत दिन सांसदहरूलाई ह्वीप लगाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

यस्तै, नेपाली कांग्रेसका दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई ह्वीप जारी गरिएको जानकारी दिनुभयो । 

सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सांसदलाई ह्वीप जारी गरेको जानकारी दिनुभयो । लुम्बिनीका साना राजनीतिक दललेसमेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारीमा छन् ।

सरकारलाई जसपाका दुई, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदलेसमेत समर्थन गरेका छन् । लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र १–१ गरी १७ सदस्य रहेका छन् ।

विपक्षमा रहेकाहरूको समेत मत लिनेगरी सत्तासाझेदार दलभित्र तयारी छ । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद सङ्ख्या चाहिन्छ । आज दिउँसो १ बजेको लागि संसद् बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button